प्रभावितहरु राहत र उद्धारको पर्खाइमा

डुबान प्रभावित क्षेत्रका बासिन्दा राहत र उद्धारको पर्खाइमा छन्
केह दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीबाट जनधनको ठूलो क्षति भएको बताइएको छ ।
प्राकृतिक प्रकोप प्रभावित मानिसहरु उद्दार र राहतको पर्खाइमा छन्।
सप्तरी जिल्लाको बाढी प्रभावित रामपुराका बासिन्दा राजेन्द्र सदोकले राहत वितरणप्रति असन्तुष्टी पोखेका छन्।
उनले भने, "सीडीओ आएका थिए। उनले सय जनाजतिलाई मात्र राहत बाँडे। उनीसँग भएको थप खानेकुरा लिएरै गए।"
निर्देशन
सरकारी स्तरबाट भइरहेको उद्धार कार्य सन्तोषजनक नरहेको सरस्वती माध्यमिक विद्यालय पिपरामा आश्रय लिइरहेका मनोजकुमार महतोले जनाए ।
गृह मन्त्रालय अन्तर्गत विपत व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउतले प्रभावित ठाउँका स्थानीय निकायलाई स्थानीय रुपमा उपलब्ध सुख्खा खानेकुरा किनेर वितरण गर्न निर्देशन दिइएको बताए।
उनले आवश्यक परे केन्द्रबाट पनि खाद्यान्न उपलब्ध गराउनेतर्फ काम भइरहेको बताए।
तराइको अधिकांश भूभाग बाढीको कारण डुबानमा परेकोछ।
विद्यालय र स्वास्थ्य चौकीहरु पनि डुबानको चपेटामा परेको अधिकारीहरुले बताएका छन्।
अधिकारीहरुले झरी परिरहेकै कारण प्रभावित ठाउँहरुमा पुग्न नसकिएको बताएका छन्।