अवरुद्ध राजमार्ग खुलाउने प्रयास

  • 14 अगस्ट 2017
मुग्लिन-नारायणगढ सडक
Image caption मुग्लिन-नारायणगढ सडकखण्ड बाहेक अन्य ठाँउहरुमा अस्थायी रुपमा सडक खोल्ने काम भइरहेको सडक विभागले जनाएको छ।

बाढी र पहिरोका कारण राजमार्ग तथा सहायक-मार्गमा क्षति पुगेपछि ती सडकलाई अस्थायी रुपमा खुलाउने प्रयास तीव्र पारिएको अधिकारीहरुले बताएका छन्।

कतिपय भत्किएका सडक सामान्य मर्मतपछि सञ्चालनमा आएपनि पूर्व-पश्चिम राजमार्गका कतिपय खण्डमा 'बेलिब्रिज' भनिने फलामे पुल राख्नुपर्ने आवश्यकता रहेको सडक विभागका एक अधिकारीले बताएका छन्।

यातायात व्यवसायीहरुले सरकारबाट पर्याप्त सहयोग प्राप्त नभएको भन्दै कैयौं यात्रुहरु बाटोमै अलपत्र रहेको बताउँछन्।

अधिकारीहरुका अनुसार मुग्लिन-नारायणगढ सडकखण्ड बाहेक अन्य ठाँउहरुमा अस्थायी रुपमा सडक खोल्ने काम भइरहेको सडक विभागले जनाएको छ।

यातायात व्यवसायीहरुले भने यात्रुहरु अझै बीच बाटोमा नै फसिरहेको बताएका छन्।

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ६९

ठप्प

यसअघि नै बारम्बार अवरुद्ध भइरहने मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोको कारण ठप्प रहेको र त्यहाँ सयौंको संख्यामा गाडीहरु फसेको बताइएको छ।

त्यस्तै नवलपरासीको दाउन्ने, पूर्व-पश्चिम राजमार्ग अन्तर्गतका लमही-अगैया-गाबर-कोहलपुर सडकखण्ड र तुल्सीपुर-दाङका सडकहरुमा क्षति पुग्दा आवागमन बन्द भएका छन्।

त्यस्तै बारा-निजगढ-पथलैया सडकका पुलहरु र बर्दिबासको रातोपुल भत्किएको सडक विभागले जनाएको छ।

अन्य थुप्रै सहायक मार्गहरु पनि बाढी र पहिरोको चपेटामा परेका विवरणहरु आएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
जलमग्न जमिन

राहत र उद्धारमा महत्वपूर्ण ठानिने देशका थुप्रै भित्री सडकहरु पनि सडक अवरुद्ध भएको बताइएको छ।

ती स्थानहरुको सडक खुलाउने काम तीव्र गतिमा भइरहेको र अधिकांश ठाँउहरुमा अस्थायी रुपमा सञ्चालनमा समेत आइसकेको सडक विभागले जनाएको छ।

विभागका सह प्रवक्ता रमेशकुमार सिंहले भने, " वुटवल-नारायणगढको दाउन्ने सडकमा हामीले मर्मत गरेर यातायात सञ्चालन हुने अवस्था आइसकेको छ। बर्दिबासको रातोपुल भत्किएकोमा त्यहाँ 'बेलिब्रिज' हाल्ने की भन्ने विषयमा सडक विभागको टोली विस्तृत अध्ययन गर्न त्यहाँ जाँदैछ। अन्य स-साना पहिरोहरु तत्काल खोल्न हाम्रो प्राविधिक टोली ठाँउ-ठाँउमा खटिएका छन्।"

अलपत्र

सडक अवरुद्ध हुँदा यकिन थाहा नभए पनि हजारौं यात्रुहरु बाटोमै अलपत्र परिरहेको यातायात व्यवसायीहरुले बताएका छन्।

सम्भव हुने स्थानहरुका बस र यात्रुहरु सम्बन्धित क्षेत्रका व्यवसायीहरुको पहलमा फर्काइएको तथा बाँकीको उद्धार जरुरी रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले बताए।

उनले भने, "हामीले मात्र सोचेर सम्भव छैन। सरकारले पनि अहिलेको अवस्थामा जे छ त्यसलाई हेर्ने बाहेक अरु केही गर्न सकेको छैन। धेरै जसो ठाँउमा गाडीहरु बीचमैं अड्किएका छन्। "

बाटो अवरुद्ध हुँदा काठमाण्डूबाट बाहिरिने यात्रुहरुको संख्या निकै न्यून भएको जनाइएको छ।

बाढीले मच्चायो देशभर वितण्डा- तस्वीरमा

यस्ता स्थानहरुमा आपतकालीन उद्धारका लागि गृह मन्त्रालयले काम शुरु गरिसकेको जनाएको छ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले आफ्ना डाक्टरहरुलाई विदामा नबस्न निर्देशन दिंदै आपतकालीन उद्धारका लागि विपद् व्यवस्थापन समिति बनाई काम थालिएको जनाएको छ।