'कृषिमा अर्बौं रुपैंयाँको क्षति'

  • 15 अगस्ट 2017
डुबान क्षेत्र
Image caption कृषि विकास मन्त्रालयले विपद्ले तीन लाख हेक्टरभन्दा बढी जमिनको खेतीमा क्षति पुर्‍याएको आकलन गरेको छ।

लगातार परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण तराई र कतिपय पहाडी क्षेत्रका झन्डै साढे ३ लाख हेक्टर जमिनको कृषि बालीमा क्षति पुगेको र यसले अर्बौं रुपैंयाँको नोक्सानी हुनसक्ने प्रारम्भिक अनुमान कृषि विकास मन्त्रालयले गरेको छ।

पानी अझै नसुकेकोले क्षतिको परिणाम यकिन गर्नमा समस्या भएको बताइएको छ।

भएका अन्नहरु समेत नष्ट हुँदा यसले भोलि खाध्यान्न संकट हुनसक्ने सम्भावना भएको भन्दै क्षतिग्रस्त स्थानहरुमा वैकल्पिक बालीको उपाय अपनाउने तयारी गरिरहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

क्षति

मुख्य रुपमा धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी अर्बौं रुपिँया भन्दा बढीको क्षति हुन सक्ने प्रारम्भिक अनुमान कृषि विकास मन्त्रालयको रहेको छ।

नेपालको अन्न भण्डारको रुपमा परिचित तराईको समथर भूभागमा झन्डै ४ लाख हेक्टर जमिनमध्ये साढे ३ लाख हेक्टरमा धान खेती सम्पन्न भइसकेको थियो।

जसको ८० प्रतिशत भाग अहिले डुबेको मन्त्रालयले जनाएको छ।

कस्तो देखियो बाढीग्रस्त्र क्षेत्र?

मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले भने, "मोरङमा चार करोड, सुनसरीमा ३ करोड, सप्तरीमा २ करोड, सिराहामा ३ करोड रुपैंया बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। "

उनका अनुसार पर्सामा २० हजार हेक्टरमा धानबाली डुबेको छ भने बारामा ५५ हजार हेक्टर, रौतहटमा २८ हजार हेक्टर, सर्लाहीमा २७ हजार हेक्टर, धनुषामा २१ हजार हेक्टर, महोत्तरीमा २० हजार, चितवनमा ६ हजार, रसुवामा ४ सय हेक्टर, ललितपुरमा ६ हजारको हेक्टर क्षेत्रफल डुबेका छन्।

यसैगरी नगदे बालीको रुपमा रहेको लहरे तरकारीहरु लगाइएको १ हजार हेक्टरभन्दा बढी क्षेत्र डुबानमा परी नष्ट भएको छ।

नेपालको माछा क्षेत्रका रुपमा परिचित तराईका ९५ हजार हेक्टर जमिनमा रहेको माछापोखरीबाट करोडौं रुपैंया बराबरको माछा बगाएको बताइएको छ।

जसको मुल्य करोडौं रुपैंया हुने पुर्वाञ्चल क्षेत्रिय कृषि निर्देशनालयका निर्देशक राजेन्द्र उप्रेतीले बताए।

उनले भने, " बारा एकदम ठूलो माछा क्षेत्र हो। सप्तरी, सुनसरी, मोरङ जस्ता क्षेत्रमा धेरै माछा पालन केन्द्र छन्। एउटा एउटा क्षेत्रमा २०/ २५ हेक्टरको दरले गन्ने हो भने पनि करोडौंको क्षति हुन आँउछ। "

मन्त्रालय अधिकारीहरुका अनुसार छिट्टै पानी सुकेमा वा बालीमा बालुवा धेरै नपसे क्षति सोचेभन्दा कम पनि हुन सक्छ।

विकल्प

ती क्षेत्रमा पानी सुक्नासाथ क्षतिको वास्तविक विवरण निकालेर तत्कालै वैकल्पिक बाली लगाइनेछ।

कृषि प्रवक्ता कार्कीले भने," कुनै स्थानमा तुरुन्तै आलु लगाउन सकिएला। कुनै स्थानमा तरकारी लगाउन सकिएला। यस्को हामीले वितृस्त योजना बनाएका छौं र तुरुन्तै कार्यान्वयन गर्छौं। हामी किसानहरुले सहयोग गर्ने तयारीमा छौं। "

तराई क्षेत्रमा भएको क्षतिले यो वर्ष अन्न उत्पादन घट्न जाने र यसले खाद्यान्न महंगो हुने अनुमान कतिपयले गरेका छन्।