गोलीबाट कश्मीर समस्या हल हुँदैन: मोदी

  • 15 अगस्ट 2017
भारत तस्वीर कपीराइट EPA

भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'गोली र गाली' बाट कश्मीरको समस्या समाधान नहुने बताएका छन्।

दिल्लीस्थित लालकिल्लामा सम्बोधन गर्दै उनले पृथकतावादीहरुले कश्मीरमा 'षड्यन्त्र रचिरहेको' बताए।

मुसलमान बहुल कश्मीर भारत र पाकिस्तानबीच दशकौंयता कायम सीमा विवादको केन्द्रमा रहँदै आएको छ।

मोदीले मिलेर कश्मीरमा देखिएका समस्याको समाधान गर्नुपर्ने बताए।

कश्मीर

कश्मीरमा प्रदर्शनकारी र भारतीय सुरक्षा फौजबीच बारम्बार झडप हुने गरेको छ।

पाकिस्तानले आफ्नो ७० औँ स्वतन्त्रता दिवस मनाएको भोलिपल्ट भारतले भव्य कार्यक्रमसहित आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ।

तस्वीर कपीराइट EPA

आफ्नो सम्बोधनमा मोदीले कश्मीरीहरुसँग मिलेर उक्त स्थानलाई 'पुन: स्वर्ग जस्तै बनाउनुपर्ने'मा जोड दिए।

मोदीले उत्तरी भारतमा अक्सिजनको अभावमा ज्यान गुमाएका ६० बालबालिकाको मृत्युको विषयमा बोल्दै देशलाई उनीहरुका परिवारको पीडामा एकताबद्ध हुन पनि अपील गरे।

आलोचना

प्रधानमन्त्री मोदीले तत्काल सम्बन्ध विच्छेद गर्न मिल्ने परम्पराविरुद्ध संघर्षरत मुस्लिम महिलाहरुको समर्थनमा धारणा राखेका थिए।

भारतमा कुनै पनि मुस्लिम पुरुषले आफ्नी श्रीमतीलाई तीन चोटी 'तलाक' शब्द प्रयोग गरे सम्बन्ध विच्छेद हुने परम्परा रहेको छ।

यस विषयको विवादमा भारतीय सर्वोच्च अदालतले केही दिनमा नै फैसला सुनाउँदैछ।

मोदीले धर्मको अवरणमा हिंसालाई बढावा दिने गतिविधिको पनि आलोचना गरेका थिए।