'देउवाको भारत भ्रमण बृहत छलफलको अवसर'

  • 21 अगस्ट 2017
देउवा

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आपसी चासोको विषयमा बृहत छलफलको अवसर हुने बताएको छ।

मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा भनिएको छ, "भ्रमणले दुई देशबीचको मित्रताको वर्षौ पुरानो र विशेष सम्बन्धलाई थप अगाडि बढाउन मद्दत गर्नेछ"।

प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमणका लागि बुधबार दिल्ली जाँदैछन्।

सोमबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय लगभग एकै समयमा जसो प्रधानमन्त्री देउवाको भ्रमणबारे औपचारिक घोषणा गरेका हुन्।

देउवा दिल्ली पुगेको भोलिपल्ट बिहीबार प्रमुख भेटवार्तामा व्यस्त हुनेछन्।

टोली

राष्ट्रपति रामनाथ कोविंद, उपराष्ट्रपति वेंकैया नायडू र भारतीय समकक्षी नरेन्द्र मोदीसँग उक्त दिन औपचारिक कुराकानी हुनेछ।

परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा सहभागी हुने सदस्य संख्याबारे प्रष्ट उल्लेख गरिएको छैन।

तर उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अन्य मन्त्रीहरु, केही सांसद तथा सचिव र अन्य उच्च सरकारी अधिकारी टोलीमा रहने बताइएको छ।

देउवाले पाँच दिने भारत बसाइको क्रममा तेलंगना, आन्ध्रप्रदेश र विहार राज्यहरुको पनि भ्रमण गर्ने जनाइएको छ।