फुटबल खेलाडी रुनीद्वारा सन्यास घोषणा

  • 23 अगस्ट 2017
वेन रुनी तस्वीर कपीराइट Getty Images

इङ्ग्ल्याण्डका कीर्तिमानी गोल स्कोरर वेन रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेका छन्।

१४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका बेला उनले इङ्ग्ल्याण्डका निम्ति कूल ५३ गोल गरेका थिए।

उनी ३१ वर्षका छन्।

निर्णय

रुनीले आफूलाई इङ्ग्ल्याण्डका फुटबल व्यवस्थापक ग्यारेथ साउथगेटले यसै साता फोन गरेर राष्ट्रिय टोलीमा पुन: बोलाएको भए पनि सन्यासको निर्णय लिएको बताए।

"प्रत्येक पटक राष्ट्रिय टोलीमा छनोट हुँदा मेरो निम्ति त्यो गरिमापूर्ण थियो। तर मलाई लाग्छ अब मैले छाड्ने बेला भयो," उनले भने।

रुनी म्यानचेष्टर युनाइटेड क्लबका पूर्व कप्तान पनि हुन्।

इङ्ग्ल्याण्डको निम्ति उनले पहिलो पटक सन् २००३ को फेब्रुअरीमा खेलेका थिए। त्यतिखेर अष्ट्रेलियाका विरुद्ध भएको खेलमा इङ्ग्ल्याण्ड तीनका विरुद्ध एक गोलले हारेको थियो।

सन् २००४ को यूरो फुटबल उनले खेलेको पहिलो महत्वपूर्ण प्रतियोगिता थियो।

इङ्ग्लाण्डका निम्ति उनको अन्तिम खेल भने कप्तानको रुपमा गत नोभेम्बरमा वेम्बले रंगशालामा स्कटल्याण्ड विरुद्धको खेल रह्यो। त्यसमा इङ्ग्ल्याण्डले तीन गोलले खेल जितेको थियो।

उतारचढाव

रुनीको खेल जीवन उतारचढावपूर्ण रह्यो। उनलाई घरेलू तथा युरोपेली प्रतियोगितामा देखाए सरहको सफल प्रदर्शन अन्तर्राष्ट्रिय स्तरमा देखाउन नसकेको एक खेलाडीको रुपमा पनि लिइन्छ।

रुनीले विश्वकप प्रतियोगितामा गोल हान्न निकै पर्खनु पर्‍यो। आफ्नो तेस्रो विश्वकप प्रतियोगिताका बेला सन् २०१४ मा युरुग्वे विरुद्धको खेलमा बल्ल उनले पहिलोपटक विश्वकपमा गोल गरे।

तर उनी यस्ता खेलाडी थिए जसले इङ्ग्ल्याण्डलाई थुप्रै पटक अघि बढाए।