दक्षिण अफ्रिकामा गैँडाको खागको लिलामी

  • 23 अगस्ट 2017
दक्षिण अफ्रीकामा गैंडा तस्वीर कपीराइट Getty Images

दक्षिण अफ्रिकामा पहिलो पल्ट इन्टरनेट मार्फत लिलाम बढाबढ गरी गैँडाको खाग बिक्री गरिँदैछ।

त्यस्तो खाग बिक्रीबाट गैंडाको चोरी शिकारलाई बल पुग्ने भन्दै संरक्षणवादीहरूले चिन्ता व्यक्त गरेका छन्।

किलोको दशौं हजार पर्न सक्ने सयौं खागहरु विक्रिमा राखिएका छन्।

जोहानेसबर्गबाट बीबीसीका नोम्सा मासेको भन्छन् खरिदकर्ताले ति खागहरु दक्षिण अफ्रीकाबाट बाहिर निर्यात गर्न सक्नेछैनन्।

प्रतिबन्ध

गैंडाको खागको अन्तर्राष्ट्रिय व्यापारमा लामो समयदेखि नै विश्वव्यापी प्रतिबन्ध लागु छ।

उक्त लिलाम विक्रिका आयोजक जन ह्युमले जोहानेसबर्गबाट उत्तरमा अवस्थित उनको खेतीमा १५ सय वटा गैंडा पालेका छन्।

उनले ति जनावरलाई पहिले बेहोस तुल्याएर मात्र दयालु तरिका अपनाइ तिनीहरुको खाग निकाल्ने गरेको बताएका छन्।

दक्षिण आफ्रीकामा गैंडाको चोरीशिकार बढ्नुको कारणका बारे जन ह्युम भन्छन्, "हाम्रा विचरा गैंडाहरु हजारौंको संख्यामा मारिनुको कारण बजारको मागबाट हामीले खागलाई टाढै राख्‍ने गरेकाले हो।"

"हामीले खरिदकर्ताहरुलाई खाग बेच्दैनौं तिमीहरु जाओ भनेर भन्यौं तिनीहरु गए। तर तिनीहरु मोजाम्बीकका गरिब जनताकहां गए र हाम्रा हजारौं गैंडाहरु मार्न तिनीहरुलाई लगाए" ,उनको भनाई थियो।

त्यसैले ,जन ह्युमले भने, "मलाई लाग्छ खागको ब्यापार बन्द गर्नु गलत हो तर दुर्भाग्यवश कानुनले त्यसो भन्दैन।"

खुला

दक्षिण अफ्रीकाको नीजी गैंडा पालक संघले बीबीसीसंग कुरा गर्दै अनलाईन मार्फत छ टन गैंडाको खाग विक्रि गर्ने लिलाम बढाबढ खुला भएको छ।

आगामी शुक्रबार दिउंसो ‌अनलाइन लिलाम बढाबढको समय समाप्त हुंदासम्म सयौंको संख्यामा गैंडाको खाग विक्रि भैसक्ने उनले अपेक्षा राखेका छन्।

तस्वीर कपीराइट Getty Images

त्यस्तो लिलाम बढाबढको कारोबार दक्षिण अफ्रीकाको सिमाना भित्र मात्र गर्न पाइन्छ।

सम्भावित खरिदकर्ताले आफ्नो नाम दर्ता गराउन पछि फिर्ता हुने गरी निश्चित रकम धरौटी राख्‍नु पर्नेछ।

त्यसपछि दक्षिण अफ्रीकाको वातावरण मामिला विभागबाट खरिद अनुमति प्राप्त गर्न तिनीहरु योग्य हुनु पर्नेछ।

तर आलोचकहरु भन्छन् खागको यस्तो विक्रि वितरणबाट गैरकानूनी बजारलाई बल पुग्न जानेछ र गैंडाको संख्या बढाउन भैरहेका प्रयासहरुमा धक्का पुग्न जानेछ।