आठ समझदारीपत्रमा हस्ताक्षर

  • 24 अगस्ट 2017
संयुक्त पत्रकार सम्मेलन तस्वीर कपीराइट MEA

प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने राजकीय भ्रमणको दोस्रो दिन प्रधानमन्त्री नेतृत्वमा भएको दुई पक्षीय औपचारिक वार्तापछि नेपाल र भारतबीच आठ वटा सम्झौतापत्रमा हस्ताक्षर भएका छन्।

भारतले पुनर्निर्माणका लागि घोषणा गरेको १ अर्ब डलरमध्ये २५ करोड डलर अनुदान थियो।

त्यसमध्येबाट आवास निर्माण तथा स्वास्थ्य, शिक्षा र पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणका लागि रकम खर्च हुनेछ।

यसैगरी मेची पुल, लागूऔषध, गुणस्तर मापदण्ड तथा दुई मुलुकका चार्टर्ड एकाउन्टेन्ट्स् निकायहरुसँग सम्बन्धित समझदारीपत्रमा हस्ताक्षर भएका छन्।

उद्घाटन

मोदी र देउवाले संयुक्त पत्रकार सम्मेलन गर्नु पूर्व कुशाहा-कटैया र रक्सौल-परवानीपुर विद्युत प्रसारण लाइनको उद्घाटन गरे।

ती प्रसारण लाइनबाट नेपालले थप १०० मेगावट बिजुली ल्याउन सक्छ।

अहिले भारतले नेपाललाई ३५० मेगावट बिजुली विक्री गरिरहेको छ।

राजनीतिक टिप्पणी

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा समाजका सबै वर्गसँग संवाद गर्ने क्रम जारी रहने र संविधानको कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

संविधानप्रति असन्तुष्टि जनाएको भारतले नेपालको संविधानको स्वागत गरेको छैन र उसले तराईका असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने गरी संविधानमा व्यवस्था गर्न नेपाली पक्षलाई आग्रह गर्दै आएको छ।

तस्वीर कपीराइट PM_India

मोदीको उक्त टिप्पणी नेपालको राजनीतिक मामिलामा भारतको पुरानै नीतिको निरन्तरताको रुपमा देखिन्छ।

तर मोदीले स्थानीय चुनावको दुई चरण सफलतापूर्वक सम्पन्न भएको भन्दै त्यसको स्वागत गरे।

उनले नेपाल र भारतको सुरक्षा हित एकअर्कासँग गाँसिएको भन्दै खुला सिमानाबाट हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि सहकार्यमा जोड दिए।

उनले पछिल्लो बाढीको समस्याबारे बोल्दै त्यसको दीर्घकालीन समाधानका लागि दुवै पक्षले उपायहरु खोज्नुपर्ने बताए।

उनले विगत २१ वर्षदेखि अडकिंदै आएको पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर छिट्टै टुंग्याउने गरी काम थाल्ने पनि बताए।

देउवाको जवाफ

देउवाले पनि नेपालको घरेलु राजनीतिलाई छोए।

उनले संविधान संशोधन गर्न दुई तिहाइ नपुगेको तर भविष्य त्यो संख्या पुगेपछि संविधान संशोधन गरिने बताए।

संशोधनको लागि दबाब दिदैं आएको भारतलाई खुशी बनाउन त्यो टिप्पणी लक्षित रहेको कतिपयले तर्क गरेका छन्।

देउवाले तराई केन्द्रित दल राजपाको नामै उल्लेख गर्दै उसको सहित विभिन्न असन्तुष्टि सम्बोधन गरेर संविधानमा धेरैभन्दा धेरैको स्वामित्व रहने स्थिति बनाउने वाचा गरे।

उनले नेपाल भारतबीच बृहत खालको सम्बन्ध रहेको भन्दै आपसी विश्वास मजबुत बनाउन उच्चस्तरीय तहमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिनुपर्ने बताए।

तस्वीर कपीराइट PM_Nepal

देउवाले औपचारिक दुई पक्षीय वार्ताअघि मोदीसँग सीमित उच्चअधिकारीसहितको 'रेक्सट्रिक्टेड' बैठक गरेका थिए।

त्यसमा नेपालकोतर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रसचिव शंकरदास वैरागी र भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय सहभागी थिए।

भारतबाट पनि त्यही तहमा अधिकारीहरु सहभागी थिए।

सुष्माले दिइन् पानी

भाषण गर्दै गर्दा देउवाको गलामा खराबी आएपछि मोदीले पानीको लागि भारतीय अधिकारीहरुलाई संकेत गरे।

हतपत भारतीय विदेशमन्त्री सुष्मा स्वाराज आफै स्वयं उठेर देउवालाई पानी दिन पुगेकी थिइन्।

त्यो दृश्यले सभाहलमा उपस्थित धेरैको ध्यान खिचेको थियो।