छाडा कुकुर व्यवस्थापनमा समस्या

  • 26 अगस्ट 2017
कुकुर तस्वीर कपीराइट Katcentre

काठमाण्डू उपत्यकामा बेवारिसे कुकुरहरुको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको चिकित्सकहरुले बताएका छन्।

उपत्यकाका दुई प्रमुख महानगरपालिकाका पदाधिकारीहरुले त्यस्ता कुकुरहरुको संख्या नियन्त्रण गर्न चरणवद्ध छलफल भइरहेको जनाउँदै आगामी तीन वर्षभित्र बेवारिसे कुकुरको संख्या ८० प्रतिशतले कमी ल्याउने लक्ष्य रहेको बताएका छन्।

तर त्यसका लागि स्पष्ट नीतिगत व्यवस्था नरहेको कतिपय अधिकारीहरु बताउँछन्।

एकजना पशुअधिकारवादीले चाँही बन्ध्याकरण विधिमार्फत बेवारिसे कुकुरहरुको व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका छन्।

समस्या

काठमाण्डू महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाण्डू उपत्यकामा यसको दीर्घकालीन समाधान खोज्न पहल गरिएको बताएकी छन्।

एकदिन बेलुका घरबाट निस्किदा वरिपरी कुकुरै कुकुर देखेपछि आफू आक्रमण हुनबाट जोगिएको बताउँदै उनले भनिन्, ''त्यसको भोलिपल्टै भुस्याहा कुकुरको समस्या हेर्ने विभाग बोलाएर यस विषय कुरा राखेँ। र बिस्तारै बिस्तारै यस्ता कुकुरको नियन्त्रण गर्ने विषयमा कुराकानी भएको छ। त्यसै अनुसार योजना बनाएका छौँ।''

उपप्रमुख खड्गीको जस्तै समस्या हाल दैनिकजसो काठमाण्डू उपत्यकाका अधिकांश मुख्य तथा भित्री सडकहरुमा थुप्रैले बेहोरेका छन् र कतिपय आक्रमणको शिकार समेत बनेका छन्।

कुकुरको संख्या अत्याधिक बढेको र सोही अनुपातमा कुकुरको टोकाईबाट घाईते बन्नेहरुको संख्या पनि बढिरहेको सम्बद्ध चिकित्सक बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन भन्छन्, "हिजो अस्तिकै आँकडा हेर्नेहो भने लगभग १५० देखि २०० को हाराहारीमा कुकुरको टोकाइबाट पीडित बनेका बिरामी उपचार गर्न आइरहेका छन्। केही महिना अघिसम्म दैनिक १०० देखि १५० सम्म त्यस्ता बिरामी आउँथे।''

डा. पुनका अनुसार पछिल्लो एक वर्षमा मात्रै करिब २८ हजार जनाले कुकुरको टोकाइवाट उत्पन्न समस्याको उपचार गराएका छन्।

उनका अनुसार प्रत्येक वर्ष सरदर १० देखस १५ जनाको रेबिज संक्रमित कुकुरको टोकाइका कारण ज्यान समेत जाने गरेको छ।

आफैले पालेका कुकुर तथा बेवारिसे कुकुरबाट राति हिँड्ने पैदलयात्री तथा मोटरसाइकल र साइकल चालक सबैभन्दा बढी पीडित हुने गरेको पाइएको स्वास्थ्य अधिकारीहरु बताउँछन्।

उपाय

तस्वीर कपीराइट Sneha's home

तर उपत्यकामा बेवारिसे कुकुरहरुको संख्या बढ्नुमा सरकारी निकायसँग दीर्घकालीन योजना नरहनु कारण भएको पशु अधिकारवादीको भनाइ छ।

विगतमा त्यस्ता कुकुर नियन्त्रणका नाममा कुकुरहरुलाई निर्ममतापूर्वक मार्ने वा अन्यत्र लगेर छाड्ने गरिएको र उक्त कार्य गैरकानूनी भएको एक अधिकारवादी संस्था स्नेहा केयरका व्यवस्थापक राजीव यादवले बताए।

उनले भने, ''कुकुरहरुको बन्ध्याकरण गरिदिए त्यस्तो संख्या बढ्दैन। सबै कुकुरलाई गर्न नसकिएला तर हामीले देखे भेटे जति कुकुरहरुको बन्ध्याकरण गरेका छौँ।''

आफूहरुले पछिल्लो एक वर्षमा विभिन्न ठाउँमा गरी झण्डै एक हजारवटा कुकुरको बन्ध्याकरण गरेको उनले बताए।

ललितपूर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफूहरुले समस्यालाई गम्भिर रुपमा लिएपनि समाधानका लागि कानूनी आधार स्पष्ट नभएकोले पशुकल्याण ऐन बनाउन नसकिएको बताए।

उनले भने, ''घरपालुवा जनावरदेखि लिएर अन्य बाटोमा छाडिएका गाई लगायतको समस्या समाधान गर्न हामीले कानून तर्जुमा गर्दछौँ तर मूल ऐनको अभावमा हामीले हामीले यस्ता समस्या समाधानलाई गति दिन सकेका छैनौं।''

यकिन आँकडा नभएपनि काठमाण्डू उपत्यकामामात्रै २० देखि २३ हजारसम्म बेवारिसे कुकुरहरु रहेको अनुमान छ।