'शिनावात दुबई पुगिन्'

  • 26 अगस्ट 2017
तस्वीर कपीराइट Reuters

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि दुबई उडेको उनको दलका सदस्यहरुले जनाएका छन्।

पार्टी स्रोतले अघिल्लो साता उनले थाइल्याण्ड छाडेको बताएको छ।

चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेकी उनी विदेश गइसकेको कुरा शुक्रबार थाहा भएको थियो। तर उनी गएको देशबारे जानकारी दिइएको थिएन।

उनी उपस्थित नभएपछि अदालतले पक्राउ आदेश जारी गरेको थियो र उनको धरौटी जफत गरिएको थियो।

शिनावातविरुद्धको मुद्दामा शुक्रबार फैसला सुनाउने तयारी गरेको सर्वोच्च अदालतले फैसला अर्को महिना गर्ने जनाएको छ।

दुबई त्यो स्थान हो, जहाँ उनका दाजु पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात आफैं निर्वासनमा बसिरहेका छन्।

भ्रष्टाचार मामिलामा सन् २००८ मा पाएको जेल सजाय छल्न उनी त्यहाँ गएका हुन्।

शिनावातको पार्टीका एकजना वरिष्ठ सदस्यले समाचार संस्था रोयटर्सलाई भने, "हामीले उनी क्याम्बोडिया हुँदै सिंगापुर पुगेको र त्यहाँबाट दुबईका निम्ति उडेको थाहा पायौं। उनी सकुशल त्यहाँ पुगेर बसिरहेको जानकारी पाएका छौं।"

तस्वीर कपीराइट Reuters
Image caption फैसला हुने भनिएको दिन शुक्रबार शिनावातका सयौं समर्थक अदालत बाहिर उपस्थित थिए

एकजना उच्च प्रहरी अधिकृतले शिनावातले मुलुक छाडेको प्रहरीसँग कुनै जानकारी नभएको र त्यस प्रकरणलाई नजिकबाट हेरिरहेको बताए।

थाइल्याण्डका उपप्रधानमन्त्रीले शिनावात रहेको स्थानबारे छिट्टै प्रष्ट हुने विश्वास व्यक्त गरेका छन्।

त्यहाँको सैनिक सरकारले शिनावात सरकारले चामल खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लगाएको छ।

त्यस प्रकरणमा दोषी ठहरिएमा उनले १० वर्ष जेल सजाय भोग्नुपर्ने हुनसक्छ।

तर कतिपयले सैनिक सरकारले शिनावात परिवारलाई राजनीतिक रुपमा कमजोर पार्ने योजना अन्तर्गत त्यसो गरेको टिप्पणी गरेका छन्।