देउवा भ्रमणमा आन्तरिक मामिलाको छा‍या

  • 27 अगस्ट 2017
देउवा मोदी तस्वीर कपीराइट AFP

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणपछि आइतबार स्वदेश फर्कंदैछन्।

घर फर्किंदा उनलाई सहज स्थिति भने हुनेछैन किनकि भारत भ्रमणमा उठेका वा नउठेका कतिपय विषयलाई लिएर उनले प्रश्नहरुको सामना गर्नुपर्ने देखिन्छ।

र, तीमध्ये एकाध विषयले अबको केही समय आन्तरिक राजनीति तताउने लक्षण देखिंदैछन्।

भारतीय समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले सार्वजनिक रुपमै संविधान संशोधनको लागि भविष्यमा प्रयास गर्ने वाचा गरेपछि त्यसले घरभित्र व्यापक आलोचना निम्त्याएको छ।

आन्तरिक राजनीति

त्यो वाचाले उनलाई दिल्लीको सान्त्वाना त दिलाउला तर नेपाली मामिलामा हस्तक्षेप गर्ने गरेको आरोप खेप्ने गरेको भारतसामू जनाइएको औपचारिक प्रतिवद्धतालाई कतिपयले आन्तरिक मुद्दामा उसलाई अझ बढी स्थान दिन खोजेको रुपमा अर्थ्याएका छन्।

नेपालको संविधानप्रतिको भारतीय असन्तुष्टि र संशोधनका लागि उसले दिएको दवाव कसैबाट छिपेको विषय होइन।

तस्वीर कपीराइट AFP

भारतीय प्रधानमन्त्री मोदीले नरम लयमा तर 'सबै वर्ग'लाई समेट्नुपर्ने पुरानै भारतीय मन्त्र सार्वजनिक रुपमै दोहोर्‍याए।

घरेलु राजनीतिका मसिना प्रसंगहरु दुई प्रधानमन्त्रीबीचका एक्लाएक्लै कुराकानीमा उठ्छन् पनि किनकि त्यसले खुलेर दुवै पक्षलाई आ-आफ्ना कुरा राख्ने मौका दिन्छ।

शायद देउवा-मोदीबीच एक्लाएक्लै भएको वार्तामा त्यो कुरा उठ्यो पनि होला तर सार्वजनिक मञ्चमै वाचाको भाकामा आन्तिरक राजनीति छिरेपछि देउवामाथि प्रश्न तेर्स्याउने ठाउँ बनाइदिएको छ।

फेरि विगतको तीता अनुभवको पृष्ठभूमिमा एक्लाएक्लै कुराकानीमा पनि कतै 'गम्भीर वाचा' त भएका छैनन् भन्ने आशंका पनि नेपालको एउटा वृत्तमा चर्को रुपमा पाइन्छ।

चीन प्रसँग

भारत र चीन एउटा विवादित सीमालाई लिएर टकरावको स्थितिमा रहेका बेला देउवाको भ्रमण शुरु हुनु पहिलेदेखि नै दिल्लीमा नेपाली पक्षले चिनियाँ प्रसँगबारे सावधानी अपनाउनुपर्ने सुझावहरु आएका थिए।

दुई पक्षीय औपचारिक कुराकानीहरुमा तेस्रो मुलुकको प्रसंग आउनु उपयुक्त पनि हुँदैन र देउवाको भारत भ्रमणका औपचारिक दस्तावेजहरु हेर्दा र अधिकारीहरुका औपचारिक प्रतिक्रियालाई आधार मान्दा समग्र चीनबारेको प्रसंग वा पछिल्लो दोक्लाम विवादबारे कुरा उठेको देखिदैंन।

तर एक्लाएक्लै कुराकानीमा त्यसले प्रवेश पाएको हुनसक्ने अड्कलबाजीहरु गरिएका छन्।

यद्यपि भारतीय संस्था इण्डिया फाउण्डेशनले गरेको एउटा कार्यक्रममा भने चीनसम्बन्धी प्रसंग उप्कियो।

एकजना भारतीय मन्त्रीले 'तिब्बत चीनले लिएको र उसबाट नेपालमाथि पनि खतरा रहेको' खालको टिप्पणी गरेपछि लिखित भाषण शुरु गर्नुभन्दा पहिले देउवाले त्यसको जवाफ दिएका थिए।

तस्वीर कपीराइट AFP

देउवाले चीन नेपालको असल मित्र रहेको र उसले नेपालको सार्वभौमिकताको सम्मान गरेको आशयमा जवाफ फर्काए।

जवाफ दिनु हुन्थ्यो वा हुन्थेन त्यसबारे पनि बहस भएका छन् तर देउवाको भनाइले भारतीय मनमा चिसो भने पसाइदिएको प्रतीत हुन्छ।

नेपाल जटिल भूराजनीतिक अवस्थितिमा छ तथा उसले भारत र चीनबीच समदूरीको नीति अख्तियार गर्दै आएको छ।

र, यो वास्तविकता वा कतिपयको शब्दमा 'बाध्यता'लाई दिल्लीले बुझ्न नचाहेको टिप्पणीहरु पनि हुने गर्छन्।

नेपाल दोक्लामसँग बिल्कुल असम्बन्धित छ तर उक्त विवादमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन कोसिस गरिरहेको भारतले काठमाण्डूको साथका लागि अनौपचारिक रुपमै भएपनि पहल गरेको छैन भनेर पत्याउन मुश्किल छ।

दोक्लाम विवादमा 'तटस्थ' बस्ने नेपालको घोषणा भारतले चित्त नबुझाएको भारतीय अधिकारीहरुसँगका अनौपचारिक कुराकानीहरुबाट पनि प्रतिविम्बित हुन्छ।

'उपलब्धि'

तस्वीर कपीराइट PIB
Image caption भारतीय राष्ट्रपति सहित उच्चपदस्थ अधिकारीले प्रधानमन्त्री देउवाको आतिथ्यता गरेका थिए।

नेपाल र भारतबीच विगत लामो समयदेखि टुटेको राजनीतिक सम्पर्कको तार जोडिरहनु दुवै मुलुकलाई आपसी अविश्वास हटाउन मद्दत गर्न सहायक हुन सक्छ।

तर नाकाबन्दीलाई आधार मान्दा नेपालको आन्तरिक मामिलाबाट भारत टाढा नबसेसम्म राजनीतिक सम्पर्कको विस्तारले मात्रै काठमाण्डूमा भारतीय कर्मचारीतन्त्रको प्रभावलाई विस्थापित गर्न नसक्ने कतिपय तर्क गर्छन्।

विगत लामो समयदेखि हुन अघि बढ्न नसकेका पञ्चेश्वर परियोजना लगायतका विषयमा निश्चित समयसीमा तोकेरै काम गर्ने सहमति हुनुलाई केहीले सकारात्मक मानेका छन्।

पुराना विषयमा भएका त्यस्ता सहमति र पूर्व प्रतिवद्धता अनुसारका केही सम्झौताका लागि मात्रै देउवा भारत भ्रमणमा आउनु उपयुक्त थिएन भन्ने अर्काथरीको मत पनि छ।

तथापि केही राष्ट्रिय महत्त्वका परियोजनाहरु, नयाँ योजनाहरुमा नेपाल र भारतबीच सहकार्यको सम्भाव्यता अध्ययन गर्ने विषयले संयुक्त वक्तव्यमा प्रवेश पाएका छन्।

भारतीय पक्षले वाचा अनुसार कति छिटो काम गर्छ त्यसले नै नेपालमा उसप्रतिको धारणा कस्तो बन्छ भन्ने निर्धारण गर्नेछ।