संविधानमाथिको हस्तक्षेप अस्वीकार्य: देउवा

  • 28 अगस्ट 2017

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा कुनै बाह्य मुलुकको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

तस्वीर कपीराइट RSS

आन्तरिक राजनीतिबारे भारतलाई जानकारी दिएको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री देउवाबाट आएको प्रष्टीकरण मूलत: भारत लक्षित ठानिएको छ।

आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउँदै देउवाले संक्रमणकालीन नेपाली राजनीतिमा बाह्य चासो र त्यसबारे जानकारी दिनु दुवै स्वाभाविक भएको प्रतिटिप्पणी गरे।

प्रमको हतारो?

भारत जानुअघि भ्रमणबारे संसद्‌लाई जानकारी गराउन आवश्यक नठानेका प्रधानमन्त्री देउवाले त्यहाँबाट फर्किएको भोलिपल्टै सोमबार संसद्‌लाई सम्बोधन गरेका थिए।

विगतमा देउवाका पूर्ववर्तीहरुले महत्त्वपूर्ण सन्दर्भमा संसद् र राष्ट्रप्रमुखलाई बेवास्ता गरिएका उदाहरण छन्।

स्वंय देउवाको पनि कयौं राष्ट्रिय मुद्दामा हतारो नगर्ने पहिचान छ।

त्यसैले भारतमा राखेको आफ्नो धारणाले नेपालमा जन्माएको असन्तुष्टिले देउवालाई फर्किएको २४ घण्टा नबित्दै संसद्‌तर्फ डोर्याएको कतिपयले अर्थ्याएका छन्।

सार्वजनिक टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, "हाम्रो संविधान कार्यान्वयनको सम्बन्धमा छिमेकी वा अन्य कुनै मुलुकको हस्तक्षेप हामीलाई स्वीकार्य हुन सक्दैन, म आश्वस्त गराउन चाहन्छु"

आकांक्षा

तर नेपालको लोकतन्त्र र शान्ति प्रक्रियामा सघाई आएका छिमेकी एवं मित्र राष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक घटनाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न नमिल्ने उनको तर्क थियो।

दिल्लीमा भारतीय प्रधानमन्त्रीले आफूसँगै उभिएका देउवाको नेतृत्वमा 'नेपालले आफ्ना सबै नागरिकको आकांक्षा समाहित गरेर संविधान सफलतापूर्वक लागू गर्न सक्ने' विश्वास व्यक्त गरेका थिए।

त्यसपछि प्रधानमन्त्री देउवाले दुई तिहाइ बहुमत पुर्याएर पुन: संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यसले नेपालको आन्तरिक विषयमा भारतीय भूमिकाको निम्ति प्रेरित गरेको लगायतका टिप्पणी भएको थियो।

देउवाले भने संविधानको स्वीकार्यता र कार्यान्वयन राष्ट्रिय एजेण्डा भएको उल्लेख गर्दै त्यसबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु स्वाभाविक भएको धारणा राखेका छन्।

हस्तक्षेप

उनको भनाइ थियो, "नेपालको संविधान निर्माण, कार्यान्वयन तथा स्वीकार्यता नितान्त नेपाल र नेपाली जनताको आन्तरिक विषय हुने कुरा म स्पष्ट गर्न चाहन्छु। यसमा कसैसंग सम्झौता गरेको छैन र हुन पनि सक्दैन।"

दक्षिणी छिमेकी भारत नेपालको आन्तरिक मामिलामा गहिरो चासो र प्रभाव राख्ने मुलुकको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित छ।

संविधान लेखनको उत्तरार्द्धमा कतिपयले हस्तक्षेप भन्ने गरेको भारतले प्रकट रुपमा देखाएको अपेक्षा सर्वसाधारणको तहसम्म छर्लङ भएको थियो।

त्यसयता अति निकट छिमेकी हुँदाहुँदै पनि राजनीतिक विषयमा भारतको चासो र त्यसबारे नेपाली नेताको कदमले नेपालमा देखिने तरंगको गति तीब्र भएको देखिन्छ।