'नेपालतर्फ पूर्वाधार बन्नै बाँकी'

  • 31 अगस्ट 2017
Image caption गत वर्ष दुई लेनको सडक बनाउने काम थालिएको थियो

चीन र नेपालले रसुवागढी-केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा प्रयोग गर्ने घोषणा गरे पनि उक्त नाका प्रयोगका लागि नेपालतर्फ आवश्यक पर्ने भौतिक पूर्वाधार तयार नभइसकेको अधिकारीहरुले जनाएका छन्।

गत वर्ष देखि शुरु गरिएको दुई लेनको सडक बनाउने काम अहिलेसम्म केही भागमा ट्रयाक खोल्न चौडाइ बढाउने काममा सीमित छ।

मुआबजा विवाद, सडकमा पर्ने रुख कटान र बिजुलीका पोल सार्ने जस्ता कामले सडक विस्तार प्रभावित भएको अधिकारीले बताएका छन्।

नाकामा अति आवश्यकीय भन्सार, अध्यागमन, प्रहरी जस्ता सरकारी निकाय टिनकै छाना मुनि छन्।

भूकम्प

नेपाल र चीनबीच अन्तर्राष्ट्रिय नाकाका रुपमा प्रयोग हुँदै आएको तातोपानी नाका भूकम्पपछि बन्द गरिएपछि सामान आयात-निर्यात हुँदै आएको रसुवागढी-केरुङ नाकालाई बुधबारदेखि अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरिएको छ।

अब उक्त नाकाबाट तेस्रो मुलुकका नागरिकको आवागमन खुल्ला गरिएको छ।

तर नेपालतर्फको सडक अत्यन्त साँघुरो र अप्ठेरो रहेको अधिकारीहरु स्वीकार गर्छन्। धादिङको गल्छीदेखि रसुवागढीसम्म हाल प्रयोग हुँदै आएको सडकको दूरी घटाउँदै ११ मिटर फराकिलो बनाउने काम शुरु भए पनि खासै प्रगति हुन सकेको छैन।

सो सडकका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले भने, "हामीलाई दिएको समय मध्ये एक तिहाइ समय सकिएको छ, तर काम ७ प्रतिशत जतिमात्रै छ। १५ प्रतिशत सम्म भए सहज हुने थियो त्यसले गर्दा तालिका भन्दा ढिला नै छौं। "

ढिलाइ

उनका अनुसार सडक विभागको जिम्मा रहेको ४६ किलोमिटर सडक खण्डमा काम शुरु भए पछि नै मुआबजा दिने, सडक खण्डमा पर्ने रुख काट्ने र विद्युतका पोल सार्ने प्रकृयाका कारण ढिलाइ भएको हो।

१६ किलोकिटरमा खोल्नु पर्ने नयाँ ट्रयाक खोल्ने काम गरिरहेको नेपाली सेनाले चैत्रसम्म सडक विभागलाई हस्तान्तरण गर्ने बताइएको छ।

बाँकी १६ किलोमिटरको निर्माणको काम चीन सरकारले नै गर्ने ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए।

उनले भने, "त्यो खण्ड चीन सरकारले बनाइ दिने भनेर विभिन्न भ्रमणका बेला सहमति भैसकेको छ र चिनियाँपक्षले काम शुरु गरेको छ। छिट्टै त्यो सडकको स्तरोन्नति हुन्छ। "

पूर्वाधार

२०७५ साल भदौसम्म निर्माण सक्ने योजना रहे पनि हालको कामले त्यो मितिभित्र सकिने अवस्था न्यून देखिन्छ। अन्य पूर्वाधार पनि छैनन्।

रसुवाकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन्, "सरकारी कार्यालयहरु अहिले सानसानो टिनको छाप्रोमा अस्थाई रुपमा बसेको अवस्था छ। अव एकीकृत सेवा दिने गरि एउटा भवन बनाउदै छौं। त्यो शिलान्यास हुने क्रममा छ। "

अन्तर्राष्ट्रिय नाकाको रुपमा प्रयोग हुँदा सामान र वस्तुको आयात निर्यात बढने हुँदा रसुवागढी नजिकैको टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको काम पनि अघि बढाइएको छ।

यो नाका अन्तर्राष्ट्रिय नाकाको रुपमा प्रयोग हुँदा काठमान्डू र ल्हासा छोटो दूरीबाट जोडिने र एक अर्का देशमा पर्यटनको आवागमन पनि बढने अपेक्षा अधिकारीहरुको छ।