आँधी उद्धार प्रयत्नको प्रशंसा

  • 3 सेप्टेम्बर 2017
घुलमिल तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले शिविरमा पुगि बच्चाहरुसँग घुलमिल गरेका थिए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाढी प्रभावित टेक्ससको दोश्रो पटक भ्रमण गर्दै आँधी प्रभावितहरुको उद्धारकार्यको प्रशंसा गरेका छन्।

उनी र उनकी श्रीमती मेलानियाले पीडित र स्वयंसेवकहरुलाई भेट्दा भने, "सबै कुरा राम्रोसँग अगाडि बढिरहेको छ।"

उनले भने, "काम निकै कठीन थियो तर पुरा देश र सारा विश्वले हेर्ने गरी असाध्यै राम्ररी काम भयो।"

एकहप्ता अगाडि त्यहाँ विनाशकारी आँधी आएको थियो।

आलोचना

केही स्थानीयबासीलाई उनीहरुको घर फर्कन दिइएको छ तर केही क्षेत्रमा अझ पनि बाढीको पानीको मात्रा बढिरहेको छ।

हार्भी आँधीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको थियो र ४३,००० मानिसहरु अहिले शिविरहरुमा बसिरहेका छन्।

राष्ट्रपति र प्रथम महिला केही दिन अघि पनि टेक्ससको भ्रमणमा गएका थिए तर उद्धार कार्य प्रभावित होला भन्ने कारण देखाउँदै प्रत्यक्ष प्रभावित ठाउँमा पुगेका थिएनन्।

तर पीडितसँग नभेटेको र सरकारी प्रयासमा मात्र केन्द्रित रहेको भनेर राष्ट्रपतिको आलोचना भएको थियो।

शनिबार पुन: टेक्सस भ्रमणमा आएका राष्ट्रपति र उनकी श्रीमतीले बाढी पीडितहरु र स्वयंसेवकहरुलाई ह्युष्टनमा भेटे। शिविरको भ्रमण गरे, खाद्यान्न वितरणमा सरिक भए र अनुरोध गर्नेहरुसँग बसेर फोटो पनि खिचे।