राजधानीबाटै ८८ केजी अवैध सुन बरामद

  • 4 सेप्टेम्बर 2017
बरामद गरिएको सुन

भन्सार छली अवैध रुपमा चिनियाँ नाका केरुङ् हुँदै ल्याइएको भनिएको ठूलो परिमाणको सुन आइतबार राती राजधानीको क्षेत्रपाटीबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

सडकमा पार्किंग गरि राखिएको गाडी शंका लागि चालकलाई समेत नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो टेपले बेरी १ किलो लेखिएका ८८ थान सुन बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

महाशाखाबाट खटिएको टोलीले सुराकीका आधारमा उक्त अवैध सुन समातेको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

उनले भने "सुन नेपाली गाडीमै ल्याइएको छ। हाल उक्त गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइरहेका छौं।"

प्रारम्भिक अनुसन्धानमा उक्त सुन चिनियाँ व्यक्तिको भएको बताएका चालकले थप विवरण भने दिन अटेर गरेको प्रहरीले बताएको छ।

उक्त सुन तस्करीमा संलग्न हुन सक्ने समुहको खोज तलास भैरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि ठूलो परिमाणमा सुन बरामद भएका थुप्रै घटना भएका छन्।

गत वर्षको पुस २१ गते विमानस्थल नजिकै पिंगलास्थानबाट ३३ केजी सुन बरामद गरिएको थियो।

उक्त सुन दुबईहुँदै काठमाण्डू ल्याइएको ठानिएको थियो।

प्रहरीको आँकडा अनुसार पछिल्लो चार वर्षमा साढे तीन सय किलो परिमाणमा यस्ता अवैध सुन बरामद भएका छन्।