'बाढी पीडितलाई १० करोड रुपैयाँ आवश्यक'

  • 6 सेप्टेम्बर 2017
तराईमा बाढी तस्वीर कपीराइट Huw Evans picture agency

बाढी र डुबान प्रभावित क्षेत्रमा पीडितको अवस्था दयनीय रहेका र त्याहाँ रोग-व्याध फैलिने क्रम नरोकिएका खबरमाझ रेड क्रसले तराई भेगका ८० हजार पीडितका लागि आर्थिक सहयोग जुटाउन मद्दत गर्न अन्तर्राष्ट्रिय अपील गरेको हो।

यसअघि उसले आवश्यक ठानेको ३५ करोड रुपियाँको ७० प्रतिशतभन्दा बढी रकम विभिन्न अन्तर्राष्ट्रिय दाताबाट प्राप्त भइसकेको जनाएको छ।

रेडक्रसका अन्तर्राष्ट्रिय महासंघले नेपाल, भारत र बांग्लादेशमा आएको बाढीका कारण पीडितहरुको अवस्था रोगहरुको महामारी, तथा सहयोग रकमको कमीले गर्दा थप जटिल बनेको जनाएको छ।

बाढी पीडित क्षेत्रमा द्रुत स्तरको क्षति मूल्यांकन सम्पन्न गरेको नेपाल रेडक्रस सोसाइटीका अनुसार बाढी प्रभावित १५ लाख मध्ये मध्य तराई र पश्चिम तराईका ८० हजार भन्दा बढी मानिस अझै नाजुक अवस्थामा छन्।

'खोइ सरकारी राहत?'

योजना

उनीहरुलाई आवास र स्वास्थ्य जस्ता तत्काल आवश्यक पर्ने सहयोग पुर्‍याउनुका साथै मुख्यगरी आम्दानीको स्रोत गुमाइसकेकाहरुका निम्ति दिर्घकालीन रुपमा सघाउने लक्ष्य राखिएको नेपाल रेडक्रस सोसाइटीले जनाएकोछ।

उक्त सोसाइटीका संचार विभाग प्रमुख दिव्यराज पौडेल भन्छन्, "पीडितहरुलाई बस्नका लागि ब्यवस्थित घर बनाउनका लागि र उनीहरुको जीविकोपार्जनका लागि तालिम हुनसक्छ, नगद सहयोग हुनसक्छ, त्यसको प्रारुपबारे निर्णय गरौंला। तर त्यस्तो खाले सहयोग जरुरी छ। "

तर पर्याप्त रकमको जोहो हुन नसक्दा उद्धार अभियानमा असर पर्न सक्ने उनको चिन्ता छ।

शुरुमा आवश्यक ठानिएकोमध्ये धेरै रकम जुटिसकेको भएपनि अझै आवश्यक रहेको १० करोड रुपैयाँ जति जुट्न सके स्थानीय तहका संघसंस्थासंग मिलेर आफ्नो अभियान अघि बढाउने पौडेल बताउछन्।

उनले भने, "स्थानीय निकायकै क्षमता अभिवृद्धि हुने र उनीहरु मार्फत नै सहयोग अगाडि वढाउने हाम्रो योजना छ। यसले उक्त क्षेत्रमा रहेका रेडक्रस-कर्मीलाई पनि सहज हुनेछ।"

क्षति

बांग्लादेश, दक्षिण नेपाल तथा उत्तर भारतमा गत महिना आएको बाढीमा परी ४ करोड १० लाख मानिस प्रभावित हुन पुगेको रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसीले जनाएको छ।

दक्षिण एसियामा वर्षेनी वाढीबाट थुप्रै धनजनको क्षति हुने गरेकोमा यसपालीको क्षतिको अवस्था निकै धेरै रहेको बताइएको छ।

पीडितहरुलाई खानेकुराको अभाव, पानीजन्य रोगको प्रकोपका साथै दिर्घकालमा अन्नबालीमा पुगेको क्षति र अब निम्तिने बेरोजगारीको समस्याले गाँज्ने भन्दै रेडक्रसका अधिकारीहरु चिन्ता व्यक्त गर्छन्।