‘रुसी लगानीमा गलत सूचना दिने अभियान’

  • 7 सेप्टेम्बर 2017
रुस तस्वीर कपीराइट PA

अघिल्लो वर्ष अमेरिकामा भएको राष्ट्रपतीय चुनावका क्रममा विभाजनकारी सामाजीक र राजनीतिक सन्देशहरु प्रवाह गर्न रुसको आर्थिक सहायतामा अभियान चलाइएको सामाजिक सञ्जाल फेसबुकले बताएको छ।

यसै वर्षको मेसम्मका लागि तीन हजार त्यस्ता विज्ञापनका लागि एक लाख डलर खर्च गरिएको उसको भनाइ छ।

ती विज्ञापनले कुनै एक नेताप्रति समर्थन नजनाएको तर आप्रवासन, जातिवाद र समान अधिकारका विषयमा सन्देशहरु राखेको जनाइएको छ।

ती सन्देशले झुटो सूचना दिने करिब ४ सय ७० वटा फेसबुक एकाउन्टतर्फ प्रयोगकर्ताहरुलाई डोर्याएको पाइएको छ।

खुलासा

उक्त मामिलाको अनुसन्धान गरिरहेका अमेरिकी अधिकारीहरुलाई आफूले सहयोग गरिरहेको फेसबुकले जनाएको छ।

पछिल्लो प्रमाण राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपका बारेमा छानविन गरिरहेका विशेष अभियोजनकर्ता रोबर्ट मलरलाई बुझाउन लागिएको उसको भनाइ छ।

बुधवार फेसबुकले प्रकाशन गरेको 'ब्लग पोष्ट'मा लेखिएको छ, "ती विज्ञापन र फेसबुक एकाउन्टहरुले सबैखालका विचारधारा भएका मानिसहरुसम्म विभाजनकारी र राजनीतिक सन्देशहरु पुर्याउने लक्ष्य लिएको थियो।"

फेसबुकले ती खाताहरु इन्टरनेट रिसर्च कम्पनी भनिने रुसको सेन्ट पिटर्सवर्ग मुख्यालय रहेको क्रेमलिन पक्षधर सन्देशहरु सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एउटा समूहले बनाएको विश्वास आफूले गरेको भएपनि त्यसको पुष्टि गर्न नसक्ने उल्लेख गरेको छ।

हाल प्रश्नको सामाना गरिरहेका एकाउन्टहरु बन्द गरिएको फेसबुकका प्रमुख सुरक्षा अधिकारी एलेक्स स्टामोसले जनाएका छन्।

अघिल्लो वर्षको राष्ट्रपति चुनावमा फेसबुकको सम्भावित दुरुपयोगबारे भएका आन्तरिक अनुसन्धानपछि पछिल्लो विवरण बाहिर आएको हो।

आलोचना

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि सुरुमा गम्भीरतापूर्वक यो विषयलाई नलिएको भनेर फेसबुकका संस्थापक मार्क जकरबर्गको चर्को आलोचना भएको थियो।

फेसबुकमा आएका 'गलत समाचार' ले चुनावी परिणामलाई प्रभावित बनाएको भन्ने टिप्पणीहरु हावादारी भएको भन्दै जकरबर्गले खारेज गरेका थिए।

बुधवारको ब्लगमा राखिएको सन्देशमा स्टामोसले पछिल्लो खुलासा कसरी गरियो भन्ने पनि उल्लेख गरेका छन्।

उनी लेख्छन्, "हामीले रुस स्रोत भएका विज्ञापनहरुको जाँच गर्यौ र कुनै संगठित अभियान अन्तर्गत नचलाइएका वा कमजोर संकेतहरु भएका विज्ञापन पनि हेर्यौ, अमेरिकी आइपी ठेगानाबाट खरिद गरिएका तर रुसी भाषा छनोट गरिएका विज्ञापन पनि जाँच्यौ, त्यसक्रममा हामीले करिब २२ सय वटा विज्ञापनका लागि झण्डै ५० हजार डलर खर्च गरिएको फेला पार्यौँ।"

फेसबुकको पछिल्लो खुलासा आफ्नो विज्ञापनको पहुँचको संख्या बढाएको आरोप उसमाथि लागेकै दिन आएको छ।

'द वाल स्ट्रिट जर्नलमा' छापिएको एउटा खबरका अनुसार फेसबुकले आफ्ना सम्भावित विज्ञापन साझेदारहरुलाई अमेरिकामा १८ देखि २४ वर्षको उमेर समूहका करिब ४ करोड १० लाख व्यक्तिसम्म आफ्नो पहुँच रहेको बताएको छ।

तर अमेरिकी जनगणनाको तथ्याङ्क अनुसार उक्त उमेर समूहका व्यक्तिको जनसंख्या ३ करोड १० लाख मात्रै छ।