एर्माले 'अमेरिकामा पनि विध्वंश मच्चाउनेछ'

  • 9 सेप्टेम्बर 2017
ध्वस्त
Image caption एर्मा आँधीले क्यारिबियनका कैयौं क्षेत्र बसोबास योग्य नहुनेगरी ध्वस्त बनाएको छ

समुन्द्री आँधी एर्माले फ्लोरिडा या उसका छिमेकी राज्यहरु ध्वस्त बनाउने अमेरिकी संघीय आपतकाल एजेन्सीका प्रमुख ब्रोक लङले बताएका छन्।

लङले फ्लोरिडाका केही भागमा कैयौंदिनसम्म बिजुली नहुन सक्ने बताए।

यो राज्यका पाँच लाख मानिसलाई उनीहरुका घर छोडेर जान आदेश दिइएको छ।

अमेरिकी मौसम विभागले सप्ताहन्तमा एर्माफ्लोरिडा आइपुग्दा आँधीले ल्याएको वायूको गति प्रतिघण्टा २७० किलोमीटर हुने बताएको छ।

घर छोड्न आदेश

अमेरिकी संघीय आपतकाल एजेन्सीका प्रमुख ब्रोक लङले भने, "अमेरिकाको सम्पूर्ण दक्षिण पूर्वी क्षेत्र सचेत भएर ध्यान दिन जरुरी छ।"

दक्षिणी फ्लोरिडा कैयौं दिन या महिनासम्म पनि बसोबास गर्न योग्य नहुनसक्ने लङले बताए।

फ्लोरिडाका गर्भनर रिक स्कटले संवाददाताहरुसँग भने, "अब हामीसँग समय छैन। यदि कोही घर खाली गर्नुपर्ने क्षेत्रमा छन् भने उनीहरु त्यहाँबाट गइहाल्नुपर्छ।"

उनले भने, "मनन् गर्नुहोस् हामी तपाइँहरुलाई पुनर्जीवन दिन सक्दैनौं तर तपाइँहरुका घर पुनर्निमाण गर्न सक्छौं।"

एर्माले क्यारिबियनमा विध्वंश मच्चाउँदा १२ लाख मानिसहरु प्रभावित भएको अनुमान गरिएको छ।

खतरनाक

आँधीको तीब्रता क्याटेगोरी चारमा झरेको छ तर अझ पनि त्यो असाध्यै खतरनाक हुने अधिकारीहरुले बताएका छन्।

अहिलेसम्म कम्तीमा बीस जनाको ज्यान गएको छ।

आँधी बहामास र उत्तरी क्युबातिर लागेको छ।

क्युबाट करिब पचास हजार पर्यटकहरु अन्यत्र लागेकाले त्यहाँका रिसोर्ट र उत्तरी तटक्षेत्र खाली भएको बताइएको छ।

बहामासको तटीय क्षेत्रमा रहेकाहरुलाई पनि सुरक्षित क्षेत्रमा जान आदेश दिइएको छ।