मंगलवारदेखि दशैंका लागि टिकट पाइने

  • 10 सेप्टेम्बर 2017
दशैं

सरकारले गाडीको भाडादर समायोजन गर्न तथा गाडीको छतमा सामान राख्न स्वीकृति दिएपछि दशैंमा राजधानी बाहिर जाने बसको अग्रिम बुकिङ मंगलवारबाट खोल्न यातायात व्यवसायी सहमत भएका छन्।

तर प्रमुख चाडपर्व सकिएपछि मात्रै भाडादरमा समायोजन गर्ने सहमति भएको सरकारी अधिकारीहरुले बताएका छन्।

भाडादर समायोजन प्रक्रिया अगाडि बढाउन र बसको छतमा सामान राख्न पाउनुपर्ने यातायात व्यवसायीहरुको प्रमुख माग पूरा गर्न शनिवार यातायात व्यवस्था विभागले सहमति जनाएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको छलफलपछि भएको उक्त सहमति अनुसार दशैं टिकट बुकिङ अगाडि चाहिँ समायोजन प्रक्रिया बढाइने छैन।

प्रक्रिया

भाडादरमा समायोजन गर्ने भनेपछि प्रायः भाडा बढाउने गरिएको धेरैको बुझाई रहेको छ।

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले भने, "दशैंमा त्यसको प्रभाव पर्दैन। समायोजन प्रक्रिया अगाडि बढाउने भन्ने सहमति हो। चाडपर्वपछि त्यो प्रक्रिया अगाडि बढाइन्छ।"

दशैं नजिकिंदै गर्दा मध्यम र लामो दूरीका सवारी साधनहरुको अग्रीम टिकट बुकिङ रोकेर व्यवसायीहरुले भाडा समायोजन प्रक्रिया अगाडि बढाउन सरकारमाथि दवाव दिंदै आएका थिए।

भाडा समायोजनबारे यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे भन्छन्, "बजारमा कति मूल्य वृद्धि भएको छ, पेट्रोलियम पदार्थ कति बढेको छ वा घटेको छ, बजार सूचक के छन्? यी सबै हेरेर त्यसको आधारमा हामीले भाडाको अन्तिम सूची सार्वजनिक गर्नेछौँ।"

कारबाही

यद्यपि डिजेल, पेट्रोलको भाउ विगतका वर्षहरुमा भन्दा सस्तो भएकोले भाडादर वृद्धि गर्न नहुने धारणा कतिपय विज्ञले व्यक्त गर्दै आएका छन्।

दशैंमा झण्डै २५ लाख मानिसले राजधानी छोड्ने गरेको बताइन्छ।

उनीहरुको आवागमनका लागि त्यसका लागि झण्डै ७ हजार सवारी साधनको व्यवस्था गरिएको व्यवसायीहरुले बताएका छन्।

यातायात व्यवस्था विभागले भने व्यवसायीहरुले नियम विपरीत काम गरे कडा कारबाही गर्न ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा यात्रु सुविधा कक्ष राखेर काम थालिने जनाएको छ।