रोहिंज्या फिर्ता लग्न म्यानमारलाई आग्रह

प्रधानमन्त्री शेख हसिना

तस्बिर स्रोत, Bss

बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले म्यानमार सरकारलाई उनको देशमा शरण खोज्दै आइपुगेका रोहिंज्या शरणार्थीहरुलाई फिर्ता लैजान आग्रह गरेकी छन्।

बीबीसीसंग बोल्दै उनले म्यानमार सरकारले रोहिंज्या मुसलमानहरुको गाउँबस्तीमा सेना तथा सुरक्षाकर्मी लगाएर हमला गर्नु हुन्नथियो भनेकी छन्।

केही साता यता म्यानमारबाट लखेटिएका तीन लाख सत्तरी हजार रोहिंज्या शरणार्थी छिमेकी बांग्लादेशमा पुगेका छन्।

म्यानमारकी नेतृ आंग सान सू चीलाई एक व्यक्तिगत सन्देश दिंदै उनले "आफ्नै मान्छे" भएकाले म्यानमारले ती शरणार्थीलाई फिर्ता लैजानु पर्ने बताइन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले बुधबार उक्त संकटबारे छलफल गर्न एक आकस्मिक बैठक डाक्दैछ।

तर चीनले शान्ति र स्थिरता कायम गर्ने म्यानमारको अधिकारको पक्षमा आफू रहेको बताएको छ।