सर्वोच्चद्वारा सिलवालको रिट खारेज

  • 12 सेप्टेम्बर 2017
सर्वोच्च अदालत तस्वीर कपीराइट Supreme Court

महिनौं लामो सुनुवाईपश्चात मंगलबार सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक डिआइजी नवराज सिलवालको रिट खारेज गरिदिएको छ।

प्रधानन्यायाधीश सहित सर्वोच्चका सात जना न्यायाधीश सामेल वृहत पूर्ण इजलासले कार्य सम्पादन मूल्यांकन समेत हेर्दा रिट निवेदक सिलवालले माग गरे बमोजिम उनलाई महानिरीक्षक पदमा नियुक्ती दिनु भन्ने आदेश दिन मिल्ने आधार नदेखिएको भन्दै सो रिट निवेदन खारेज गरिदिएको छ।

अदालतका सहायक प्रवक्ता नगेन्द्र कुमार कालाखेतीले लोक सेवा आयोगबाट प्राप्त कार्य सम्पादन मूल्यांकन हेर्दा वर्तमान महानिरीक्षक प्रकाश अर्यालले बढी अंक पाएको देखिएको सो आदेशमा उल्लेख भएको बताएका छन्।

अदालतको आदेशपछि बीबीसीलाई प्रतिक्रिया दिंदै नवराज सिलवालले अब आफूले प्रहरी सेवा त्याग्ने बताएका छन्।

"अब म सामाजिक सेवामा लाग्नेछु। आदेशका बारेमा फैसलाको पूर्ण पाठ नपढिकन टिप्पणी गर्दिन," उनले भने।

पृष्ठभूमि

तस्वीर कपीराइट facebook

गत फागुन ११ गते सरकारले तत्कालीन डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

तर प्रहरी महानिरीक्षक बन्ने लाइनमा आफू अगाडी रहेको भन्दै सिलवालले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

सर्वोच्चले लगत्तै चन्दको नियुक्ती विरुद्ध फैसला दियो।

सरकारले भने चैत २८ गते अर्का डिआइजी प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गर्‍यो।

त्यस यता सिलवालको मुद्दा सर्वोच्चमा सुनुवाई हुँदै आएको थियो।