राष्ट्रपति टेमेयरद्वारा न्यायालयको आलोचना

तस्बिर स्रोत, Reuters
राष्ट्रपति टेमेयरको कार्यालयले न्यायालयको आलोचना गर्दै विज्ञप्ति जारी गरेको छ
ब्रजीलका राष्ट्रपति मिशेल टेमेयरले देशको न्यायालयले भ्रष्टाचारको आरोप लगाएर मानिसहरुको प्रतिष्ठा ध्वस्त पारेको आरोप लगाएका छन्।
टेमेयरले विज्ञप्ति निकालेको केही घण्टा पछि सर्वोच्च अदालतका एकजना न्यायाधीशले उनी विरुद्ध नयाँ भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न अभियोजनकर्तालाई अधिकार दिएका छन्।
अदालते अनुसन्धानको तयारी गरेपछि राष्ट्रपतिको विज्ञप्ति आएको बताइएको छ।
देशका अन्य नेताहरुसहित राष्ट्रपति 'अपरशेन कार वाश' भनिने भ्रष्टाचार काण्डमा तानिएका छन्।
खण्डन
अपरेशन कार वाश भनेको ब्रजीलको सबभन्दा ठूलो भ्रष्टाचार अनुसन्धान हो जसमा उच्चतम तहका मानिसका लागि दिइएको घुसबारे तीन वर्षदेखि अनुसन्धान भइरहेको छ। अनुसन्धानमा अघिल्ला दुई राष्ट्रपतिपनि मुछिएका छन्।
टेमेयरले भ्रष्टाचारको र आरोपको खण्डन गर्दै आएका छन्।
उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "आरोपितको बयान नलिइकन, अनुसन्धान पुरा नगरिकन, सत्य बाहिर नल्याइकन, वास्तविक प्रमाण प्रमाणित नगरीकनै मानिसलाई दोषी ठहर्याउने बिन्दुमा हामी पुगेका छौं।"
"हरेक दिन आरोपितको प्रतिक्रिया बिना व्यक्तिगत अधिकार हनन् भइरहेको छ।"
अभियोजनकर्ताले टेलिफोन ट्याप र मुद्दा हाल्नेहरुको आवेदनमा आधारित अनुसन्धान गर्ने गरेको भन्दै विज्ञप्तिमा अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो अनुसन्धान राष्ट्रपति टेमेयरका पूर्व सहयोगीको फोन रेकर्ड केन्द्रित रहेकाले विज्ञप्तिमा त्यसप्रति संकेत गरिएको हो।
न्यायाधीश ब्यारोसोले मंगलबार अनुसन्धान अगाडि बढाउन अनुमति दिएको मुद्दा राष्ट्रपतिले तटक्षेत्र अनुगमन गर्न दिएको कार्यकारी आदेश सम्बन्धमा रहेको छ।