'इयु सुधारका लागि सम्भावनाका ढोका खुला छन्'

  • 13 सेप्टेम्बर 2017
यंकर तस्वीर कपीराइट .

ब्रिटेनले इयु त्यागेको ब्रेक्जिट निर्णय पछिको अप्ठेरो वर्ष अब आफ्नो पछाडी रहेको युरोपेली आयोगका अध्यक्ष जाँ क्लड यंकरले बताए।

ब्रेक्जिट नै सबथोक नभएको र युरोपको भविष्य अन्त्य पनि नभएको भन्दै उनले इयु अघि बढ्ने बताए।

यंकरले युरोपको अर्थतन्त्र पुरानै अवस्थामा फर्किरहेको भन्दै विभिन्न देशहरुसँग भइरहेका व्यापार सम्झौताको स्वागत गरेका छन्।

सम्भावनाको ढोका

युरोपेली संसद्‍मा वार्षिक सम्बोधन दिने क्रममा यंकरले सुदृढ र थप एकताबद्ध इयु निमार्ण गर्नका लागि सम्भावनाको ढोका खुला रहेको भनेका छन्।

तर यो सधैँका लागि खुला रहिनरहने उनले उल्लेख गरेका छन्।

स्टेट अफ दि युनियन भनिने उक्त सम्बोधनले युरोपेली युनियनका कार्यकारीलाई निकट भविष्यका लागि राजनीतिक उद्देश्यहरुको खाका बनाउन र नयाँ नीतिहरु सार्वजनिक गर्न अवसर प्रदान गर्छ।

एक घण्टाभन्दा लामो सम्बोधनमा यंकरले भने - गत वर्ष आफ्नै जग नै हल्लाउने गरी इयु खराब समयबाट गुज्रियो। ईयूले ब्रेक्जिट, आप्रवासी संकट र लोकप्रियतावादीको उदयका चुनौतीहरुको सामना गर्नुपर्‍यो।

तर सदस्य राष्ट्रहरुले एकता रोजेको भन्दै उनले इयुले 'बिस्तारै भए पनि गति भने पक्कै लिइरहेको' बताए।

'पछुतो'

ब्रिटेनले इयु छाड्ने भनी गरेको निर्णयले सबैलाई दु:खी तुल्याएको तर यसले युरोपको भविष्य अन्त्य नभएको उनले बताए।

साथै यंकरले युरोपेली संघ इयुबाट ब्रिटेन अलग हुने पक्षमा मत हालेका ब्रिटिस मतदाताहरुले आफ्नो निर्णयमाथि पछुतो मान्ने बताएका छन्।

उनले अब ब्रेक्जिटभन्दा अघि बढेर ब्यांकिङ युनियनको सदस्यता, युरोजोन र सेन्जेन सम्झौता प्राथमिकतामा हुने बताएका छन्।

यसैबीच उनले इयुका लागि थप प्रभावकारी र एकीकृत युरोपेली संघको खाका प्रस्तुत पारेका छन्।

यंकरले इयुबाट ब्रिटेन औपचारिक रुपमा छुट्टिने दिनको भोलिपल्टै अर्थात् मार्च ३०, २०१९ मा 'थप एकताबद्ध, मजबुत र प्रजातान्त्रिक युरोप' बारे निर्णय लिनका लागि रोमानियामा सम्मेलनको आह्वान गरेका छन्।

इयुको अर्थतन्त्र पुन: सुदृढ भइरहेको बताउँदै उनले क्यानाडा र जापानसँग भएका हालैका व्यापार सम्झौताको प्रशंसा गरे र अष्ट्रेलिया र न्यूजिल्याण्डसँग नयाँ सम्झौता गर्नुपर्ने बताएका छन्।