चीनमा 'सबभन्दा पाको' उमेरको पाण्डाको मृत्यु

तस्बिर स्रोत, AFP
बसी नाम गरेको उपत्यकाबाट उद्धार गरिएकाले यो पाण्डालाई चार-पाँच वर्षको उमेरदेखि फुजियानको आश्रयस्थलमा राखिएको थियो।
विश्वको सबैभन्दा पाको उमेरको घरपालुवा पाण्डाको ३७ वर्षको उमेरमा दक्षिण-पूर्वी चीनको फुजियानमा मृत्यु भएको उनका संरक्षकले बताएका छन्।
बसी नाम दिइएको ३७ वर्षको पाण्डालाई आफ्नो प्रजातिमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने जीव भनिएको छ।
मानवको उमेरसँग तुलना गर्ने हो भने त्यो जीव १०० वर्षभन्दा बढी बाँच्न सफल भएको छ।
'जायन्ट' अर्थात् ठूलो पाण्डालाई चीनको प्रतीकको रुपमा लिइन्छ; यो प्रजातिको संरक्षणलाई सरकारले निकै प्राथमिकता दिएको छ।
उल्लेख्य
वर्षौंदेखिको संरक्षण प्रयासका कारण पाण्डा संकटापन्न अवस्थाबाट मुक्त भइसकेको छ र अहिले चीनमा पाण्डाको संख्यामा उल्लेख्य वृद्धि भइसकेको छ।
बसी नाम गरेको उपत्यकाबाट उद्धार गरिएकाले यो पाण्डाको नाम बसी राखिएको हो।
चार वा पाँच वर्षको उमेरदेखि बसीलाई फुजियानको आश्रयस्थलमा राखिएको थियो।
बसीको मृत्युको समाचारलाई चिनियाँ सरकारी टेलिभिजनले निकै प्राथमिकता दिएको थियो।
बसीलाई राखिएको आश्रय 'स्ट्रेइट्स् जायन्ट पाण्डा रिसर्च एण्ड एक्सचेन्ज सेन्टर' का एक अधिकारीले भने, "हामी निकै दु:खी भएर यो घोषणा गर्दैछौँ: बसी नाम गरेको 'जायन्ट पाण्डा'को ३७ वर्षको उमेरमा बिहान ८.५० बजे मृत्यु भएको छ।"
ती अधिकारीका अनुसार बसीले सन् १९९० को पहिलो एसियाली खेलकुदको प्रतीक मस्कट्लाई समेत प्रेरित गरेकी थिइन्।
उनले भने, "उनी देशभित्र र बाहिरका लागि मित्रताकी दूत थिइन्।"