जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र

तस्बिर स्रोत, KCNA
उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन्।
राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
टोकियोस्थित बीबीसीका एकजना संवाददाताका अनुसार उत्तर कोरियाले यसअघि परीक्षण गरेको क्षेप्यास्त्रभन्दा यो लामो दूरीको हो।
जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई आश्रय लिन भनिएको थियो।
आकस्मिक
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको छ।
सेप्टेम्बर ३ तारिख एउटा हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि सुरक्षा परिषद्ले दण्डित गर्ने भन्दै उत्तर कोरियाविरुद्ध सर्वसम्मतिले नयाँ प्रतिबन्धहरु पारित गरेको थियो।
तस्बिर स्रोत, Reuters
दक्षिण कोरियाली र जापानी सरकारले पछिल्लो क्षेप्यास्त्रबारे समीक्षा गरिरहेको बताएका छन्।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ।
'अभुतपूर्व खतरा'
यसअघि गत अगस्ट २९ तारिखमा उत्तर कोरियाले आफ्नो आकाशमाथि बलेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा जापानले त्यसलाई 'अभुतपूर्व खतरा'को संज्ञा दिएको थियो।
उक्त क्षेप्यास्त्र जापानी आकाश भएर ३,००० किलोमिटरको दूरी तय गरी समुद्रमा खसेको थियो।
प्योङयाङगले त्यसलाई कोरियाली प्रायद्वीपमा सैन्य कारबाहीको 'पहिलो कदम' भएको बताएको थियो।
संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बावजुद उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ।