प्रचारको अन्तिम दिन नेताहरुको भ्याइनभ्याइ

  • 15 सेप्टेम्बर 2017
Image caption प्रधानमन्त्री देउवाले पर्सा र बारामा विभिन्न सभाहरुलाई संबोधन गरेका थिए

प्रदेश नम्बर दुईमा सोमबार हुने स्थानीय निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन शुक्रबार सबैजसो मुख्य दलका शीर्ष नेताहरुले चुनावी सभाहरुलाई संबोधन गरेका छन्।

धेरैजसो शीर्ष नेताहरुले केही दिन यता सो प्रदेशलाई नै मुकाम बनाएर प्रचार प्रसार गरिरहेका छन्।

सो प्रचारप्रसारको एउटा मुख्य केन्द्र रहेको वीरगञ्जमा शुक्रबार प्रधानमन्त्री तथा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्षले सभा सम्बोधन गरे।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले वीरगञ्जको रातो बंगला परिसरमा आयोजित सभालाई संबोधन गरेका थिए।

प्रयास

उनले भने, "मधेशका जनताको भावनालाई कदर गरेर संविधानमा केही सुधार गरौं भनेर हामीले प्रयास गरेका हौं।"

मधेशी जनताको हक हितका लागि लडेको बताउने तराई केन्द्रित दल आपसमा नमिलेको कारण मधेसलाई अधिकार सम्पन्न गराउने सामर्थ्य नेपाली कांग्रेसमा मात्रै भएको धारणा पनि देउवाले व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले शुक्रबार नै वीरगंजका साथै पर्साको पोखरिया , बाराको कलैया तथा जितपुर सिमरामा चुनावी सभालाई सम्बोधन गरेका थिए भने नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको जितपुर सिमरा हुँदै वीरगंज तथा पर्साको पोखरियामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।

Image caption एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका दलहरुप्रति निकै आक्रोश पोखे

चुनावी प्रसार प्रसारका लागि अन्तिम दिन संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी राजपा नेपाल तथा नेपाल लोकतान्त्रिक फोरम अनि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सबै दलले विभिन्न ठाउँमा चुनावी सभा गरेका छन्।

सबै दलले आफ्नो पार्टी मधेशको जनताको सच्चा हितचिन्तक भएको भन्दै मतदातालाई आकर्षित गर्ने कोशिश गरेका छन् ।

ओली तराईमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको तेस्रो चरणको चुनावमा पहिलो पटक चुनाव प्रचारको अन्तिम दिन तराईका विभिन्न स्थानहरुमा आफ्ना दलका उम्मेद्वारहरुका लागि मत मागेका छन् ।

उनकले शुक्रबार बाराको सिमरा र महोत्तरीको बर्दिबासमा चुनावी सभालाई उनले सम्बोधन गरे।

एक महिना अघिदेखिनै एमालेका अन्य शीर्ष नेताहरु तराई झरेर आफ्ना पार्टीका उम्मेद्वारहरुका लागि भोट मागिरहे पनि शुक्रबार पहिलो पटक चुनाव प्रचारको अन्तिम दिन तराई झरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महोत्तरीको बर्दिवासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सत्तामा रहेका दलहरुप्रति निकै आक्रोश पोखे ।

उनले भने, 'अन्य दलहरुले एमालेले पहाड र तराईमा झगडा ल्याउन खोज्यो भन्छन् । तर जातीय विभेद ल्याउने काम तिनले गरेका छन् । हुनै नसक्ने संविधान संशोधनको प्रस्ताव ल्याएर त्यतातिर कुद्ने दल नै पहाड र तराई विरोधी हुन् ।'

उनको आक्रोश सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, माओवादी केन्द्र तथा तराई केन्द्रित दलहरुप्रति लक्षित थियो ।

तराईको विकास

हेलिकप्टरबाट आएका ओलीले बाराको सिमरामा पनि चुनावी सभामा बोलेका थिए । विगतमा तराईमा चलेको आन्दोलनको प्रभाव त्यति नपरेको बताइएको बर्दिबासमा उनले आफ्नो पार्टी तराईको विकासका लागि वाधक नभएको भन्दै तराईवासीलाई आश्वस्त पार्ने कोशिस गरे । उनले आफ्नै नेतृत्वको सरकारका बेला तराईको विकासका लागि आयोजनाहरु बनाएको दावी पनि गरे ।

ओलीले भने, 'एमालेले पूर्व पश्चिम रेलमार्गको अवधारणा ल्याएको हो । हुलाकी राजमार्ग, काठमाण्डु तराई जोड्ने फास्ट ट्रयाक लगायतका कामको अवधारणा एमालेले नै ल्याएको हो ।'

अन्य दलहरुले जस्तै एमालेको चुनावी सभामा पनि चुनाव चिन्ह अंकित टिसर्ट तथा टोपी वितरण गरिएको थियो । सार्वजनिक यातायातका साधनका छतमा समेत कार्यकर्ता ओसारिने गरिएका दलका चुनावी सभामा चुनाव चिन्ह अंकित पोशाक लगाएका थुप्रै बालबालिका देखिन्थे । एमालेको सभामा पनि त्यो दोहोरिएको देखियो ।

सोही स्थानमा दुई दिन अघि नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा सोही पार्टीका सभापति शेरबहादुर देउवाले कांग्रेसका उम्मेद्वारहरुका लागि भोट मागेका थिए ।