नेपाल यु-१९ एसिया कपका लागि छनोट

  • 17 सेप्टेम्बर 2017
नेपाल

१९ वर्षमुनिको एसीसी पूर्वीय छनोट क्रिकेट प्रतियोगिता नेपालले जितेको छ।

मलेसियामा आइतवार भएको फाइनलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको हो।

यो उपाधिसँगै नेपाल यु-१९ एसिया कपका लागि छनोट भएको छ।

आगामी नोभेम्बरमा मलेसियामै हुने उक्त प्रतियोगितामा नेपालले टेष्ट मान्यता प्राप्तहरु राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफ्गानिस्तान सम्मिलित टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ।

अपराजित

सो प्रतियोगितामा आयोजक मलेसिया र पश्चिम छनोट खेलका विजेता टोली पनि समावेश हुने एसीसीले जनाएको छ।

सात पटक यु-१९ को विश्वकप खेलिसकेको नेपालको लागि पूर्वीय छनोट प्रतिस्पर्धा सहज ठानिएको थियो।

तस्वीर कपीराइट BINOD DAS

सोही अनुरुप नेपालले प्रतियोगितामा अपराजित रही उपाधि जित्न सक्यो।

सो क्रममा नेपालले समूह चरणमा भुटान, थाइल्याण्ड र सिंगापुरलाई तथा सेमिफाइनलमा मलेसियालाई सहजै पराजित गरेको थियो।

उत्कृष्ट

आइतवार फाइनलमा टस हारेर ब्याटिङ पाएको हङकङ नेपाली बलिङसामु निरीह हुने क्रममा ३२ दशमलव १ ओभरमा 'अलआउट' हुँदै ७६ रनमा समेटिएको थियो।

परम्परागत रुपमा बलिङमा उत्कृष्ट मानिएका नेपाली युवा खेलाडीहरुले उनीहरुलाई खुलेर खेल्न दिएनन्।

नेपालका लागि सन्दीप लामिछाने र साहब आलमले ३/३ विकेट लिएर विपक्षीलाई रन जोड्न बाट रोकेका थिए।

नेपालले १४.१ ओभरमा ५ खेलाडी गुमाई लक्ष्य पूरा गर्‍यो।

नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे भने सन्दीप सुनार र प्रनित थापा मगरले समान १९ रन जोडेका थिए।