लण्डन रेल हमला: अर्का सन्दिग्ध पक्राउ

  • 17 सेप्टेम्बर 2017
लण्डन हमला तस्वीर कपीराइट Reuters

गत शुक्रबार लण्डनको रेलमा भएको आक्रमणसँग सम्बन्धित रहेको आंशकामा थप एकजना पुरुष पक्राउ परेको त्यहाँको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती २१ वर्षीय पुरुषलाई आतंकवादी घट्नामा संलग्न भएको आशंकामा पश्चिम लण्डनबाट शनिबार राति पक्राउ गरिएको हो र उनलाई दक्षिणी लण्डनमा हिरासतमा राखिएको छ।

३० जना घाइते हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा एकजना १८ वर्षीय पुरुषलाई यसअघि नै पक्राउ गरिएको थियो।

उनलाई डोभरको बन्दरगाहा क्षेत्रबाट पक्राउ गरी अनुसन्धान जारी राखेको प्रहरीले बताएको छ।

खानतलासी

संयुक्त अधिराज्यमा आतंकवादको खतराको तह अहिलेपनि 'उच्च' राखिएको छ जसको अर्थ जतिबेला पनि हमला हुनसक्छ भन्ने हो।

प्रहरीले ती १८ वर्षिय पुरुषको बासस्थान भएको ठानिएको सनबरी-अन-थेम्समा खानतलासी गरिरहेको बताएको छ।

उनी बसेको भनिएको घरका मालिक एक वृद्धवृद्धा जोडी हुन् जसले केही शरणार्थीसहित सयौं केटाकेटीलाई पालेको र कैंयनपटक त्यस्तो कार्यका लागि सम्मानित पनि भएको बताइएको छ।

ब्रिटेनमा गएको नौ महिनाभित्र भएको यो पाँचौं आतंकवादी घटना थियो तर यसबाट कसैको पनि ज्यान गएको थिएन।