प्रदेश नम्बर २ मा स्थानीय तह चुनावको मतदान

पटक-पटक चुनाव स्थगित भएको प्रदेश नम्बर २ मा अन्तत: स्थानीय तहको चुनावका लागि मतदान शुरु भएको छ।

रौतहटका मतदाता
तस्बिरको क्याप्शन,

पूरै देशको जनजीवन प्रभावित तुल्याउने गरी भएका आन्दोलनका केन्द्र रहेको प्रदेश नम्बर २ मा स्थानीय सरकार गठनको निम्ति सोमबार बिहान सात बजेदेखि मतदान शुरु भएका विवरण प्राप्त भएका छन्। स्थानीय तहको चुनाव यो क्षेत्रमा पनि २० वर्षपछि भइरहेको हो।

तस्बिरको क्याप्शन,

प्रदेश नम्बर २ मा करिब साढे ६ हजार पदको निम्ति ३६ हजार जति उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। उनीहरुको भविष्यको फैसला साढे २६ लाख मतदाताले गर्दैछन्। हाम्रा संवाददाताहरुका अनुसार लगभग सबै स्थानमा बिहानबाटै शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको छ।

तस्बिरको क्याप्शन,

प्रदेश नम्बर २ को अर्को महत्त्वपूर्ण नगर जनकपुरधाममा पनि शान्तिपूर्णरुपमा मतदान चलिरहेको हाम्रा संवाददाताले जनाएका छन्। त्यहाँ बिहान सबेरैदेखि महिला, ज्येष्ठ नागरिक लगायतका मतदाताहरु मतदान गर्नका लागि लामबद्ध भएका छन्।

तस्बिरको क्याप्शन,

देशका अन्य प्रदेशमा स्थानीय चुनाव भएको महिनौंपछि अन्तिम चरण अन्तर्गत प्रदेश नम्बर २ मा मतदान भइरहेको छ। देशको जनसंख्याको ठूलो हिस्सा यही प्रदेशमा बसोबास गर्दछ। त्यसैले प्रदेश नम्बर दुईको निर्वाचनप्रति धेरैको चासो दिएका छन्।

तस्बिरको क्याप्शन,

झरी र वर्षापछि मौसमा सुधार भएसँगै मतदाताहरुलाई केही सहज भएको पाइएको छ। गएराति अधिकांश स्थानमा वर्षा भएपनि सोमबार बिहानबाट मौसममा सुधार भएको छ।

तस्बिरको क्याप्शन,

प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जमा बिहान सातबजेदेखि शान्तिपूर्ण रुपमा मतदान शुरु भएको त्यहाँस्थित बीबीसी संवाददाताले बताएकी छन्। उनका अनुसार भारतसँगको सीमा नजिकै रहेकोले वीरगञ्ज वरपरको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ।

तस्बिरको क्याप्शन,

निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा सुरक्षा निकायले पर्याप्त सुरक्षा व्यवस्था मिलाएको बताउँदै सबै मतदातालाई ढुक्क भएर मतदानमा भाग लिन आग्रह गरेको छ। तीन पटकसम्म सारिएको स्थानीय तह चुनाव सोमबार ८ वटा जिल्ला, बारा, पर्सा, रौतहट, महोत्तरी, सिरहा, सर्लाही, धनुषा र सप्तरीमा हुन लागेको हो। चुनावपछि ती जिल्लामा १३६ वटा स्थानीय तह गठन हुने बताइएको छ।

तस्बिरको क्याप्शन,

भारतसँगको सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा तुल्याइएको बताइएको छ। मतदान सकिएलगत्तै मतगणनाको काम शुरु हुने र यसपाला छिट्टै मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगको भनाइ छ।