मध्यान्हसम्म ३५ प्रतिशत मतदानः आयोग

मतदाता
तस्बिरको क्याप्शन,

२० वर्ष पछि भइरहेको स्थानीय तहको चुनावमा मतदाताहरु निकै उत्साहित देखिएको हाम्रा संवाददाताहरुले जनाएका छन्।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर २ मा जारी स्थानीय तह चुनावमा अधिकांश स्थानमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ।

चुनावका लागि सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बीबीसी नेपाली सेवासँग भने, "हामीले पाएको जानकारी अनुसार ३५ प्रतिशत मतदान सम्पन्न भइसकेको छ। निकै शान्तिपूर्ण वातावरणमा मतदान हुने क्रम जारी छ।"

२० वर्ष पछि भइरहेको स्थानीय तहको चुनावमा विहानैदेखि मतदाताहरु निकै उत्साहित भएर मतदान केन्द्रहरुमा आइरहेको हाम्रा संवाददाताहरुले बताएका छन्।

प्रतिस्पर्धा

प्रदेश नम्बर दुईमा करिब साढे ६ हजार पदको निम्ति ३६ हजार जति उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्।

उनीहरुको भविष्यको फैसला साढे २६ लाख मतदाताले गर्दैछन्।

चुनाव ८ वटा जिल्ला, बारा, पर्सा, रौतहट, महोत्तरी, सिरहा, सर्लाही, धनुषा र सप्तरीमा भइरहेको छ।

चुनावपछि ती जिल्लामा १३६ वटा स्थानीय तह गठन हुने बताइएको छ।