राष्ट्रसंघमा सुधार गर्न ट्रम्पको आह्वान

  • 18 सेप्टेम्बर 2017
ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा उनको पहिलो सम्बोधन गर्दै राष्ट्रसंघले बजेट वृद्धि भएपनि उसको सामर्थ्यजति काम गर्न नसकेको बताएका छन्।

राष्ट्रसंघको कर्मचारीतन्त्र र अव्यवस्थाका कारण उसले आफ्नो सामर्थ्य अनुसारको काम गर्न नसकिरहेको उनले बताए।

राष्ट्रसंघको पूर्ण सुधारको वकालत गर्दै उनले व्यवस्थापनका हरेक स्तरलाई जवाफदेही बनाउनुपर्ने बताए।

कुनै पनि देशले एकदमै धेरै खर्चको अनुपात बेहोर्नु नहुने भन्दै उनले राष्ट्रसंघको बजेट कटौती गर्ने अमेरिकी चेतावनीतर्फ संकेत गरे।

प्रयास

तर उनले महासचिव एन्टोनियो गुटेरसले यी समस्या सम्बोधन गर्ने प्रयास गरिरहेको उल्लेख गरे।

यसअघि राष्ट्रसंघका अधिकारीहरुले ट्रम्पलाई विशेषगरि शरणार्थी निकायजस्ता मिसनहरुको खर्च कटौती नगर्न आह्वान गरेका छन्।

न्यूयोर्कबाट सम्वाददाता नीक ब्र्यान्ट भन्छन्, "विगतमा ट्रम्पले राष्ट्रसंघको चर्को आलोचना गरेका छन्। निर्वाचित भएको केही सातापछि बोल्दै ट्रम्पले राष्ट्रसंघलाई केवल एउटा क्लबको रुपमा वर्णन गरे जहाँ मानिसहरु भेटघाट गर्छन्, छलफल गर्छन् र रमाइलो गर्छन्। अमेरिकालाई पहिलो प्राथमिकता दिने उनको नीति राष्ट्रसंघको बहुपक्षीय नीतिसंग मेल खाँदैन।"

फ्रान्स तथा रुसले अमेरिकी योजनालाई खासै रुचाएका छैनन्।

ट्रम्प प्रशासन राष्ट्रसंघको सुधारभन्दा पनि खर्च कटौतीमा केन्द्रित भएको उनीहरु ठान्छन्।

चेतावनी

सोमबार न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सम्बोधन गर्नु अगाडी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले वाशिंगटनले राष्ट्रसंघलाई दिने बजेट कटौती गरे त्यसले समाधान गर्न नसकिने समस्या निम्तिने चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनको कटौती गर्ने निर्णयकै कारण राष्ट्रसंघले शान्तिस्थापनाको मिसनसम्बन्धी उसको ७.८ अर्ब डलरको बजेटलाई आधा अर्ब डलरले घटाइसकेको छ।

अमेरिकाले विश्वभर शान्तिस्थापनाका कार्यमा ऊ एक्लैले २८.५ प्रतिशत बजेट बेहोर्नुपरिरहेको भनेर गुनासो गरेको छ।

अमेरिका राष्ट्रसंघको सबभन्दा ठूलो दाता हो।

वाशिंगटनले राष्ट्रसंघको धेरै खर्च बेहोर्छ भन्दै ट्रम्पले विगतमा गुनासो गर्ने गरेका छन्।