क्यारिबियन क्षेत्रमा अर्को शक्तिशाली आँधी

  • 18 सेप्टेम्बर 2017
मारिया आँधी तस्वीर कपीराइट EPA/NASA

क्यारिबियन क्षेत्रस्थित लिवार्ड टापुतर्फ मरिया नामक आँधी अघि बढिरहँदा त्यसले एक भयावह समुद्री आँधीको रुप लिने ठानिएको छ।

क्याटगोरी एक को उक्त आँधी आगामी ४८ घण्टाभित्र तीव्र रुपमा मजबुत हुने र सोमबार अबेरसम्म लिवार्ड टापुहरुमा प्रवेश गर्ने अमेरिकी राष्ट्रिय आँधी केन्द्रले बताएको छ।

केही सातापूर्व क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली आँधी एर्माले सो क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो र आँधी मरिया लगभग आँधी एर्मा हिँडेकै बाटोबाट अघि बढिरहेको जनाइएको छ।

अमेरिकी राष्ट्रिय आँधी केन्द्रले दिएको पछिल्लो जानकारीअनुसार आँधी मरिया प्रति घण्टा १५० किलोमिटरको वेगमा अघि बढिरहेको छ।

चेतावनी

ग्वाडलुप, डोमिनिका, सेन्ट किट्स एण्ड नेभिस, मोन्ट्सेराट र मार्टिनिकमा आँधी आउने चेतावनी जारी गरिएको छ।

फ्रान्सको भूभाग अन्तर्गत पर्ने ग्वाडलुप टापुमा विद्यालय र व्यसाय बन्द गर्नका लागि भनिएको छ र तल्लो क्षेत्रमा भीषण बाढी आउने अनुमान गरिएको छ।

पोएर्टो रिको तथा ब्रिटिश भर्जिन टापुहरुमा पनि ४८ घण्टापूर्व नै आँधीको लागि सतर्कता अपनाइएको छ।

यी मध्ये केही टापुहरु हालै आएको क्याटगोरी पाँचको शक्तिशाली आँधी एर्माले पुर्‍याएको क्षतिबाट तंग्रिदै छन्।

आँधी एर्माले ३७ जनाको ज्यान लिएको थियो भने अर्बौं डलर बराबरको क्षति पुर्‍याएको थियो।

युद्धस्तर

सर्वसाधारणको जीवन रक्षा र भौतिक संरचनामा क्षति पुग्नबाट रोक्न युद्धस्तरमा तयारी हुनुपर्ने अमेरिकी राष्ट्रिय आँधी केन्द्रले बताएको छ।

लिवार्ड टापुहरुमा आँधी मरिया अघि बढ्दा विशाल र विनाशकारी छालहरु आउने र सामान्य अवस्थाभन्दा छालकोको स्तर पाँच देखि सात फिटसम्म बढ्ने अनुमान उक्त केन्द्रले गरेको छ।

लिवार्ड टापुहरुको एकदम दक्षिणतर्फ मरिया आँधी पहिलो पटक प्रवेश गर्नेछ।

त्यसमा एन्टीगुआ र बार्बुडा टापुहरु पर्दछन्।

एर्मा आँधीले व्यापक क्षति पुर्‍याएपछि बार्बुडा टापु खाली गरिएको थियो।