'प्रदेश नम्बर २ मा ७३ प्रतिशत मतदान'

  • 18 सेप्टेम्बर 2017
Image caption चुनावमा महिला मतदाताहरु ठूलो संख्यामा सहभागी भएका थिए

लामो अन्योल र अनेक अडकलबाजी चिर्दै प्रदेश नम्बर २ का स्थानीय तहमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा ७३ प्रतिशत भोट खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ।

१ सय ३६ वटा स्थानीय तहका सबै मतदान केन्द्रमा विना कुनै हिंसा मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको आयोगले जनाएको छ।

मतपेटिका संकलन गरी स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने काम शुरु भइसकेको बताइएको छ।

मतदान सम्पन्न

मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उत्साही रुपमा प्रस्तुत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव मतदान सम्पन्न भएपछिको पत्रकार सम्मेलनमा थप हौसिएका र प्रसन्न देखिन्थे।

आठवटा जिल्लामा एउटा महानगर सहित १३६ वटा स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न बिहानैदेखि भोट खसाल्न मतदाता लाइनमा बसेका थिए।

मतदाताको त्यही उत्साहका कारण प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव प्रसन्न देखिन्थे।

उनले भने, "करिब ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ। डुबान र कटानको दुखलाई सहेर भएपनि मतदाताहरुले देखाएको व्यापक सहभागिताले लोकतन्त्र र जनताको अधिकारलाई बलियो बनाउन सहयोग पुगेको अनुभव आयोगले गरेको छ।"

पहिलो र दोस्रो चरणको निर्वाचनमा करिब ७४ प्रतिशत मत खसेको थियो।

ती दुबै चरणमा केही ठाउँमा पुन: मतदान गराउनु परे पनि प्रदेश २ मा त्यस्तो अवस्था आएन।

असन्तुष्टि र विभाजन

लामो समयसम्मको असन्तुष्टि र राजनीतिक विभाजनका कारण त्यहाँ तेश्रो चरणमा चुनाव गराइएको हो।

प्रमुख निर्वाचन आयुक्त यादवले सामूहिक प्रयत्नबाट त्यो सम्भव भएको टिप्पणी गरे।

उनले भने, "मतदानकार्य शान्तिपूर्ण उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जानकारी गराउन पाउँदा आयोग गौरवको अनुभव गर्दछ। पटक पटक सरेर पनि राजनीतिक सहमति र समझदारीका साथ जसरी सबैको सहभागितमा सम्पन्न भयो यसलाई सरकार, निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारले ठूलै उपलब्धिका रुपमा लिएका छन्।"

एउटा महानगरपालिका, ३ वटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका ६ हजार ६ सय २७ पदका निम्ति ३७ हजार भन्दा बढी उम्मेदवारहरुले प्रतिष्पर्धा छन्।

मतदान सम्पन्न भएसँगै उनीहरुको भविष्य मतपेटिकामा बन्द हुन पुगेको छ। ती मतपेटिका सम्भव भएसम्म सोमबार नै खोलेर मतगणना शुरु गरिने आयोगले जनाएको छ।

शुक्रबारको मतदानपछि संविधान कार्यान्वयनका लागि निकै महत्वपूर्ण मानिएको राज्य पुनर्संरचनाको निम्ति बनेका स्थानिय तह गठनको काम पुरा हुँदैछ।