'७० स्थानमा मध्यरातदेखि मतगणना जारी'

  • 19 सेप्टेम्बर 2017
मत

प्रदेश नम्बर २ मा सोमवार स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतदान सकिए लगत्तै ७० स्थानमा मध्यरातबाटै मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।

बाँकी स्थानमा मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

मतरिणाम आउन ढिलाइ हुन सक्ने चिन्ताबीच चुनावको मतपरिणाम पाँच दिनभित्र आइसक्ने गरी मतगणनाको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

पहिलो र दोस्रो चरणको निर्वाचनको मतगणनामा निकै ढिलाइ गरिएको भन्दै आलोचना खेपेको आयोगले अहिले छरितो मतगणनाका लागि केन्द्रबाट समेत विशेषज्ञ टोली खटाएको प्रमुख निर्वाचन आयुक्तले बताएका छन्।

परिस्थिति

तेस्रो चरणको मतपरिणाम पाँच दिनभित्र आइसक्ने गरी व्यवस्था गरिएको आयोगले जनाएको छ।

प्रदेश नम्बर २ का ३५ सयभन्दा बढी मतदान केन्द्रबाट सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालयमा पुर्‍याइनासाथ मतगणना प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, "निर्वाचन अधिकृतलाई मतगणनासम्बन्धी सम्पूर्ण कानूनी अधिकार छ। उहाँहरुले राजनीतिक दल तथा उम्मेदवारसँग छलफल गरेर र अरु भौतिक परिस्थिति निर्माण गरेर मतगणना थाल्नेछन्।"

पहिलो र दोस्रो चरणको निर्वाचनको मतपत्र गन्न ढिलाई हुँदा निर्वाचन आयोगको व्यापक आलोचना भएको थियो।

कार्यान्वयन

तर यसपालि पाँच दिनभित्रमा सम्पूर्ण मतको परिणाम आउने गरी मत गन्ने व्यवस्था गरिएको र केही धेरै मतदाताहरु भएको स्थानमा मात्र ढिलाई हुने आयुक्त यादवले बताए।

उनले भने, "हाम्रो अनुमान छ धेरै ठाँउको मतदान पाँच दिनभित्र सकिने छ। महानगरपालिकामा एक/दुई दिन ढिला हुनसक्छ। तर हामीले केन्द्रबाट पनि मतगणना कार्यमा दक्ष जनशक्ति खटाएका छौँ।"

तराईका आठ जिल्लामा भएको निर्वाचनमा साढे २६ लाख मतदातामध्ये करिब ७३ प्रतिशत अर्थात् झण्डै २० लाख मत खसेको बताइएको छ।

त्यसमध्ये राजविराज नगरपालिका वडा नम्बर १५ का वडाध्यक्षका उम्मेदवारको निधन भएकोले त्यहाँको दुईवटा मतदानस्थलमा मतदान हुन बाँकी छ।

पछिल्लो दुईवटा निर्वाचनमा भाग नलिएका तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल समेत सामेल प्रदेश नम्बर २ को निर्वाचनपछि संविधान कार्यान्वयन पनि अघि बढेको रुपमा हेरिएको छ।