आँधी भर्जिन आइल्याण्ड र पोर्टो रिको नजिक

  • 20 सेप्टेम्बर 2017
मरिया आँधी तस्वीर कपीराइट AFP

समुन्द्री आँधी मरियाको बाटोमा परेका भर्जिन आइल्याण्ड र पोर्टो रिकोले विनाशकारी शक्तिशाली आँधीको सामना गर्नै लागेका छन्।

मौसम भविष्यवाणीकर्ताहरुका अनुसार आँधी छोटो समयमा लागि क्याटेगरी ४ को बनेपनि क्रमश: शक्ति आर्जन गर्दै २८० किलोमिटर प्रति घण्टाको गति लिएर क्याटेगरी ५ को बनेको थियो।

पोर्टो रिकोका एकजना अधिकारी हेक्टर पेस्केराले मानिसहरुलाई "सुरक्षित ठाउँमा जान नत्र मर्न" भनेका छन्।

आँधी मरिया सोमबार डोमिनिका पुग्दा नब्बे प्रतिशत भन्दा बढी सम्पत्तिमा क्षति पुगेको थियो।

एर्माकै बाटोमा?

मरिया झण्डै झण्डै शक्तिशाली आँधी एर्माकै बाटो हिँडिरहेको छ।

अधिकारीहरुले एर्माले मच्चाएको विध्वंशबाट छरपस्ट बस्तुहरु मरियाले उडाएर खतरा बढाउन सक्ने बताएका छन्।

पोर्टो रिकोमा सयौं आश्रयस्थलहरु खडा गरिएको छ तर संवाददाताहरु भन्छन् मानिसहरुले त्यसलाई कत्तिको गम्भीर रुपमा लिन्छन् भन्नेमा मानवीय क्षति निर्भर गर्नेछ।

मरिया क्याटेगरी ३ बाट सोमबार केही घण्टामै क्याटेगरी ५ को बनेको थियो। जसले डोमिनिकाका जनतालाई स्तब्ध बनाएको थियो।

बीबीसीका मौसम अनुमानकर्ता स्टीभ क्लीटन भन्छन् जलवायु परिवर्तनका कारण समुन्द्री सतह सामान्य भन्दा दुई डिग्री सेल्सियसले बढी भएकाले त्यहाँबाट उत्पन्न वाफयुक्त हावा आँधीमा परिणत भएको हो।

यो वर्ष मात्रै क्याटेगरी ५ का दुईवटा आँधी आइसकेका छन्।