मेक्सिको भूकम्प: मर्नेको संख्या २०० भन्दा धेरै

  • 20 सेप्टेम्बर 2017
मेक्सिको तस्वीर कपीराइट Getty Images

मध्य मेक्सिकोमा मध्यान्हको समयमा आएको शक्तिशाली ७.१ म्याग्निच्यूडको भूकम्पका कारण मारिनेको संख्या २ सय भन्दा धेरै पुगेको छ।

राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएका छन्।

मेक्सिकोमा भूकम्प: उद्धारकार्य जारी

मेक्सिकोमा भूकम्प: ठूलो क्षतिको आशंका

भूकम्पका कारण एक प्राथमिक तहको विद्यालय भवन भत्किँदा २० जना भन्दा बढी बालबालिका मारिएका छन् भने ३० जना बालबालिका र ‍अन्य आठ अझै हराइरहेको राष्ट्रपति एनरिके पेना निएटोले बताएका छन्।

भूकम्पले मोरेलस र पोएब्ला राज्यमा पनि व्यापक क्षति पुर्‍याएको छ।

आपतकाल

राष्ट्रपति एनरिके पेना नियटोले टेलिभिजन सम्बोधनका क्रममा मेक्सिकोका प्रभावित क्षेत्रमा आपतकालको घोषणा गरिएको र उद्धार कार्यका लागि सेना खटाइएको बताएका छन्।

यो भूकम्प, ३२ वर्ष अघि मेक्सिकोमा सबभन्दा विनाशकारी भूकम्प आएकै दिन आएको छ।

भूकम्प आउँदा धेरै मानिसहरु पुरानो भूकम्पको वार्षिकीको क्रममा आयोजित भूकम्पबाट बच्ने अभ्यासमा सहभागी भइरहेका थिए।

भूकम्पका कारण दर्जनौं घरहरु ध्वस्त भएका छन् र उद्धारकर्मीहरुहरुले भवनहरुका भग्नावेशषहरुमा जीवितहरुको खोजी गरिरहेका छन्।

तस्वीर कपीराइट AFP

मारिएका मध्ये अधिकांश राजधानी मेक्सिको सिटीका रहेका छन्।

भूकम्पपश्चात् स्वास्थ्यकर्मीहरुले सडकमा बनाइएका अस्थायी अस्पतालबाट स्वास्थ्य सेवाहरु दिइरहेका छन्।

शक्तिशाली

यो भूकम्प, देशको दक्षिणी भागमा कम्तीमा नब्बे जनाको ज्यान गरी गएको ८ दशमलब १ म्याग्नीच्युडको भूकम्प आएको दुई हप्तामा आएको हो।

तर उही क्षेत्रमा भूकम्प आए पनि यो भूकम्पको अघिल्लो भूकम्पसँग सम्बन्ध नभएको बीबीसीका संवाददाता जनाथन एमोसले बताएका छन्।

७ सेप्टेम्बरमा आएको अघिल्लो भूकम्प यो भन्दा कम्तीमा तीस गुणा बढी शक्तिशाली भएको बताइएको छ।

भूकम्पको केन्द्रविन्दु मेक्सिको सिटीभन्दा १२० किलोमिटर पर रहेको पोएब्ला राज्यमा रहेको र त्यसको गहिराई ५१ किलोमिटर रहेको अमेरिकी भौगर्भिक संस्थाले बताएको छ।

भूकम्पपछि मेक्सिको सिटीमा बिजुली र टेलिफोन सेवा अवरुद्ध भएका छन्।

अधिकारीहरुले ग्यासलाइनहरु फुटेको हुनसक्ने भन्दै मानिसहरुलाई सडकमा चुरोट नपिउन भनेका छन्।

तीन विशाल टेक्टोनिक प्लेटहरुमाथि रहेको मेक्सिको उच्च भूकम्पीय जोखिम रहेको देश हो।