जर्मनीमा चुनाव: मर्केल चौथो कार्यकालको दौडमा

  • 24 सेप्टेम्बर 2017
मर्केल तस्वीर कपीराइट Reuters

जर्मनीमा संघीय निर्वाचनका लागि मतदान शुरु भएको छ र दशौं लाख मानिसले मतदान गरिरहेका छन्।

मर्केल चौथो कार्यकालका लागि चुनाव लड्दैछिन्।

निर्वाचनमा मतदाताको उपस्थिति मध्यम हुने अनुमान गरिएको छ।

चान्सलर मर्केलको मुख्य प्रतिस्पर्धी सोसल डेमोक्रेटिक पार्टी एसपीडी हो भने दक्षिणपन्थी दल अल्टर्नेटिभ फर जर्मनी एएफडीले पहिलोपटक संसदमा स्थान पाउने अनुमान गरिएको छ।

मर्केलले बर्लिनस्थित एउटा मतदान केन्द्रमा आफ्नो मत दिएकी छिन् र चान्सलर पदका लागि एसपीडीका उम्मेदवार मार्टिन शूल्ट्सले पश्चिमी जर्मनीस्थित आफ्नो गृहनगर वुयेरजेलेनमा मतदान गरेका छन्।

महत्व

स्थानीय समयको बिहान ८ बजे मतदान केन्द्र खुलेका थिए भने बेलुकी ६ बजे मतदान बन्द गरिनेछ।

र, त्यसको केही समयपछि मत दिएर निस्कने मानिसको मत सर्वेक्षणहरु सार्वजनिक गरिने अनुमान गरिएको छ।

यो चुनावपछि दोस्रो विश्वयुद्ध यता पहिलोपटक जर्मन संसद बुण्डस्टाकमा ६ वटा दल हुने अनुमान गरिएकाले पनि यसलाई महत्वपूर्ण मानिएको छ।

र यदि त्यस्तो भएमा हाल सत्तारुढ गठबन्धन सरकारको बनावटमा फेरबदल हुनसक्छ।

मतदान

नयाँ गठबन्धन सरकार कस्तो हुन्छ भन्ने बारेमा अनिश्चितता भएकाले साबिक भन्दा धेरै मानिसले मतदान गर्ने अनुमान गरिएको छ र हुलाकबाट औसतभन्दा बढी मानिसले मतदान गरेका छन्।

मतदाता संख्या कम भएमा एएफडी पार्टीलाई बल पुग्ने डरमा मूलधारका दलले धेरै भन्दा धेरै मानिसलाई मतदान गर्न आह्वान गरिरहेका छन्।

आप्रवासन विरोधी एएफडी पार्टी विवादास्पद रहिआएको छ र उसका समर्थकहरु राजनीतिक रुपमा निकै सक्रिय छन्।

चुनौती

एएफडी पार्टी संसदमा प्रवेश गर्ने सम्भावना उच्च देखिएको छ तर चान्सलर मर्केलले भने त्यो पार्टीसँग गठबन्धन नबनाउने बताएकी छिन्।

मर्केलले आफ्नो पद जोगाए पनि उनको पार्टीले बहुमत भने नल्याउने अनुमान गरिएको छ।

परस्पर विरोधी नीति भएका दलहरु मिलाएर उनले गठबन्धन बनाउनुपर्ने हुन्छ र त्यो सजिलो पक्कै हुनेछैन।