'विदेशीहरुकोअतिक्रमण' विरुद्ध लड्छौं: एएफडी

  • 25 सेप्टेम्बर 2017
एएफडी तस्वीर कपीराइट Reuters

जर्मनीको दक्षिणपन्थी एएफडी पार्टीले आप्रवासीहरुको 'अनियन्त्रित' प्रवेशलाई संकेत गर्दै देशभित्र 'विदेशीहरुको अतिक्रमण'विरुद्ध लड्ने बताएको छ।

पहिलो संसदीय सिटहरु जितेपछि उक्त दलको भनाइ आएको हो।

उक्त दलका सहनेता अलेक्साण्डर गौलाण्टले भने, "हामी फरक नीति चाहन्छौं"।

तर पार्टीको भावी कार्यदिशालाई लिएर एएफडीभित्र मतभिन्नता देखिएको छ।

स्तब्ध

कागजातविहीन आप्रवासी र शरणार्थीहरुका लागि जर्मनीको सीमा खुला गर्न चान्सलर एंगेला मर्केलले सन् २०१५ मा गरेको निर्णयलाई लिएर देखिएको आलोचनाको फाइदा एएफडीले चुनावी अभियानका क्रममा उठाउन प्रयास गरेको थियो।

उसको सफलताले जर्मनीको राजनीतिक संस्थापन पक्षलाई स्तब्ध पारेको छ।

मर्केलको पुरातनपन्थी दल सीडीयु र सीएसयुको गठवन्धनले ३३ प्रतिशत, सोसल डेमोक्रयाटसले २०.५ प्रतिशत र एएफडीले १२.६ प्रतिशत मत ल्याएका छन्।

चान्सलर मर्केल चौथो कार्यकालका लागि पनि चुनिएकी छन् तर उनको पुरातनपन्थी दल सीडीयु र सीएसयुको गठवन्धनले ७० वर्षयताकै सबैभन्दा खराब नतिजा बेहोरेको छ।

मर्केलले नयाँ गठवन्धन सरकार बनाउनका लागि वार्ता थालिसकेकी छन्।