चिकित्सक आन्दोलनले बिरामी मारमा

  • 25 सेप्टेम्बर 2017
आन्दोलन

सरकारले आन्दोलनरत चिकित्सकहरुको सुरक्षा लगायतका मागबारे आगामी मन्त्रिपरिषदको बैठकबाट सम्बोधन गर्ने भन्दै अबिलम्ब काममा फर्कन गरेको आग्रह चिकित्सकहरुले अस्वीकार गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुको माग सम्बोधन गर्न नसकेको भन्दै नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा चार दिनयता जारी आपतकालीनबाहेकका सबै सेवा बन्दको कार्यक्रम, यथावत राखेको हो।

महत्वपूर्ण स्वास्थ्य सेवा बन्द हुँदा देशभरका हजारौं बिरामी प्रभावित भएका छन्।

व्यथा

स्थानीय औषधि पसलमा श्रीमतीको स्वास्थ्य परीक्षण गर्दा उनको फोक्सोमा पानी जमेको र छिट्टै उपचार गर्नुपर्ने सुझाव पाएको भोलिपल्टै गोरखाका हमबहादुर गुरुङ काठमाण्डूको महाराजगंजस्थित शिक्षण अस्पताल पुगे।

छिटो अस्पताल पुर्‍याउन भन्दै उनले बिरामी श्रीमतीलाई ठूलो रकम खर्च गरेर ट्याक्सीमा ल्याए तर आकस्मिक बाहेक अन्य सेवा ठप्प पारेका चिकित्सकहरुले उनको श्रीमतीको भर्ना नलिएको उनले बीबीसीका सम्वाददातालाई बताए।

काखमा रहेको १८ महिनाको छोरालाई सुताउने कोशिश गरिरहेका गुरुङ्ले भने, "आरुघाटमा जचाउँदा फोक्सोमा पानी जमेको छ, काठमाण्डू लग भन्यो। त्यसैले मैलै १५ हजार खर्च गरें, ट्याक्सीमा ल्याएँ। बिहान ४ बजे आइपुगेको तर अहिलेसम्म भर्ना लिएको छैन। खै, के गर्ने सोचिरहेको छु।"

नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबारदेखि आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा बन्द छ।

त्यहाँ बीबीसी सम्वाददाताले भेटेकी अर्कि बिरामी काठमाण्डू जोरपाटीकी ४५ वर्षिया दुर्गा खतिवडाको टाउकोको शल्यक्रिया गर्ने दुई महिनाअघि तय भएको तर अहिले हड्ताल भन्दै फर्काइएको उनका छोराले बताए।

माग

उनले भने, "चार दिनदेखि आइरहेका छौं। सोमबार उहाँको टाउकोको शल्यक्रिया गर्ने भनिएको थियो। तर बिहान हामी आउँदा चिकित्सकहरुको हड्ताल छ, शल्यक्रिया हुँदैन, जाऊ भन्छन्।"

पछिल्लो समयमा चिकित्सकको लापरबाहीका कारणले बिरामीको मृत्यका घटना बढेकोले त्यसलाई व्यवस्थित गर्न सरकारले गत साता निर्देशन दिएको थियो।

तस्वीर कपीराइट TUTH

यसको विरोधमा उत्रेका चिकित्सकहरुले संशोधन हुन लागेको ऐनले उनीहरुको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन्।

चिकित्सकहरुमाथि आक्रमण गर्ने वा उनीहरुको अपमान गर्ने व्यक्तिलाई विना धरौटी जेल सजाय हुनुपर्ने माग उनीहरुले राखेका छन्।

आन्दोलन

चिकित्सकहरुको माग सम्बोधन गर्न भन्दै सोमबार बिहान मन्त्रिपरिषदको बैठक बसेको थियो।

उक्त बैठकले राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री फर्कैपछि आगामी मन्त्रिपरिषदको बैठकबाट चिकित्सकहरुको माग सम्बोधन गर्ने निर्णय गर्‍यो र चिकित्सकहरुलाई अविलम्ब हडताल फिर्ता लिन आग्रह गर्‍यो।

मन्त्रिपरिषदको निर्णयले उनीहरुलाई आश्वस्त पार्न नसकेको नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले बताए।

उनले भने, "हाम्रो माग सम्बोधन भएको जस्तो लागेन। त्यो खाली आन्दोलन फिर्ता लिऊ भन्ने खालको अपीलजस्तो थियो । त्यसैले हामीले आन्दोलन जारी राख्ने निर्णय लिएका हौँ।"

गत साता मन्त्रिपरिषदको निर्णय पछि ७२ घण्टाको समयसीमा दिँदै चिकित्सकहरुले आन्दोलन शुरु गरेका हुन्।

यसबिच सरकारी पक्ष र आन्दोलनरत चिकित्सकबीच पटकपटक छलफल भए तर ती वार्ता निष्कर्षमा पुग्न सकेका छैनन्।