वीरगञ्जको मेयरमा फोरमका सरावगी विजयी

  • 27 सेप्टेम्बर 2017
विजय सरावगी

स्थानीय तहको तेश्रो चरण अन्तर्गत प्रदेश नम्बर दुईमा भएको निर्वाचनमा त्यहाँको एक मात्र महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार ५५ वर्षीय उद्योगपति विजय सरावगी विजयी भएका छन्।

उनले १९,३९३ मत ल्याएर विजय प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदीले १७,१९७ मत प्राप्त गरेका छन्।

जितपछि बोल्दै सरावगीले अब विकासमा ध्यान दिने बताए।

"आउने सत्रदेखि सरकारी स्कूलहरु अंग्रेजी माध्यमका हुनेछन्। खानेपानी देखि नाला व्यवस्थापन तीन महिनाभित्र हुनेछ। वरपरका गाउँहरु स्याटेलाइट सिटीको रुपमा परिवर्तन हुनेछन्। महिला शक्ति प्रयोग गर्न हरेक हातलाई रोजगार दिलाउनेछु। उच्च शिक्षाका लागि अब यहाँका बालबालिकाले अन्यत्र जानुपर्ने छैन," उनले भने।

Image caption कार्की लामो समयदेखि कांग्रेस राजनीतिमा होमिएकी थिइन्।

वीरगञ्ज महानगरपालिकाको प्रथम मेयरको रुपमा फोरम नेपालका उम्मेदवार सरावगी निर्वाचित भएका हुन्।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाको उपमेयरमा शुरु देखि नै अग्रस्थानमा रहेकी नेपाली काँग्रेसकी ८७ वर्षीया शान्ति कार्की विजयी भएकी छन्।

कार्कीले १९,६०७ मत ल्याएकी छन्।

उद्योगपतिबाट मेयर

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रहिसकेका सरावगी फोरम नेपालको मधेश प्रदेश कोषाध्यक्ष पनि हुन्। उनी सरावगी ग्रुप अफ इण्डस्ट्रिजका अध्यक्ष हुन्।

स्थानीय तहको चुनाव भन्दा केही समय अगाडी मात्रै उनले संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए।

उपमेयरमा निर्वाचित कार्कीले झण्डै ६ दशक देखि निरन्तर रुपमा काँग्रेसको राजनीतिमा लागेर काम गर्दै आएकी छन्। उनी अविवाहित हुन्।

अहिलेसम्म कुनै लाभको पद नलिएकी कार्कीलाई यसपालि काँग्रेसले उपमेयरको उम्मेदवार बनाएको थियो।

प्रतिष्ठा

प्रदेश नम्बर दुई को एक मात्र महानगरपालिका वीरगञ्जलाई सबै राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका थिए।

वीरगञ्ज महानगरको नेतृत्व आफ्नो पक्षमा बनाउन राजनीतिक दलहरुले भगमग्दुर प्रयास गरेपनि अन्तत: सबै दललाई पछि पार्दै फोरम नेपालले बाजी मारेको छ।

वीरगञ्ज महानगरको मतगणना एकदमै रोमान्चक भएको थियो।

मतगणनाको शुरुशुरुमा राजपा नेपालका मेयर तथा उपमेयर पदका उम्मेदवार अगाडि देखिए।

त्यसपछि राजपालाई उछिन्दै काँग्रेस अगाडि बढेको थियो भने केही दिन यता समाजवादी फोरम नेपालले कांग्रेसलाई उछिन्दै जित हात पारेको हो।

मतगणना शुरु भएको दिनदेखि मेयर र उपमेयरमा काँग्रेस र राजपा बीच कडा टक्कर चलेको थियो भने त्यसपछि मतगणनाको अन्तिम नतिजा नआउञ्जेलसम्म फोरम नेपाल र नेपाली कांग्रेसबीच कडा टक्कर भएको थियो।

त्यस्तै ६ वटा तराईकेन्द्रित दल मिलेर बनेको राजपामा उम्मेदवारी चयनका बेला नेताहरुबीच निक्कै विवाद भएपछि त्यसको असर चुनावी नतीजामा परेको विश्लेषण गरिएको छ।