पुल निर्माणको प्रतीक्षामा नेपाली व्यापारी

  • 28 सेप्टेम्बर 2017
मेची पुल
Image caption भारत जोड्ने पुरानो मेची पुलले रुप फेर्ने आशा गरिएको छ।

पूर्वी नाका काँकडभिट्टा र भारतको पानीट्यांकी जोड्ने मेची नदीमा भारतले नयाँ पुल बनाइदिने भएपछि भारत तथा अन्य छिमेकी मुलुकसँगको व्यापार वृद्धि हुनेमा नेपाली व्यवसायीहरु आशावादी देखिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उक्त पुल भारतले बनाइदिने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो।

४ लेनको उक्त पुल निर्माण पश्चात सडकमार्गमार्फत हुने व्यापारको मात्रा निकै फस्टाएर जाने नेपाली अधिकारीको भनाई छ।

नेपाल र भारतबीचको व्यापार प्रवर्द्धन मात्र नभएर अन्य छिमेकी देशहरुसँगको व्यापार पनि वृद्धि हुने प्रशस्त सम्भावना रहेको व्यवसायीहरु देख्छन्।

आर्थिक सहायता

एकजना व्यवसायी केशवराज पाण्डेले भने, 'यसले नेपाललाई भुटानसम्म पनि जोड्छ। भारतको आसाम हुँदै बर्मा र थाइल्याण्डसम्म पनि सडकमार्गबाट गरिने व्यापारलाई प्रवर्द्धन गर्ने सम्भावना छ। बंगलादेशसँगको व्यापारलाई थप दह्रो बनाउन सहयोग पुग्छ।'

एसियाली विकास ब्यांकको आर्थिक सहयोगमा भारतले बनाउने पुलको निर्माण हुने बताइएको छ।

नेपालका प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला उक्त पुल १ सय ५९ करोड भारतीय रुपैयाँको लागतमा भारतले बनाइदिने सहमति भएको थियो।

मेची पुल बनाउनुअघि नै भारतले आफ्नो भूमिमा सडकको स्तरवृद्धि लगायतका काम सम्पन्न गरिसकेको छ।

त्यसैले मेची पुलको निर्माणसँगै नेपाललेपनि आफ्नो क्षेत्रमा सडकमार्गको स्तर बढाउनुपर्नेमा व्यवसायी पाण्डेले बताए।

प्रस्ताव

उक्त पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव तयार गरेको थियो।

उक्त पुल निर्माणका लागि भारतलाई प्रस्ताव गर्नुको उद्धेश्यका बारेमा मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भने, 'पूर्वी नाकाबाट सीधा व्यापार नै भारतसँग हुने हो। यसले बंगलादेशसँगको व्यापार पनि थप उचाईमा पुर्याउँछ भन्ने आशा गर्न सकिन्छ।'

शर्माका अनुसार पुलको ठेक्का सम्झौतामा निर्माण सम्पन्न भइसक्ने मिति तोकिनेछ।

सामान्यतया पुलको निर्माण अवधि दुई वर्षको हुने उनले बताए।

ठेक्का लगाउनदेखि निर्माणका सम्पूर्ण काम भारत सरकारले नै गराउने उनले जानकारी दिए।

साँघुरो तथा जीर्ण भएको पुरानो मेची पुलमा मालवाहक सवारी साधनको आवागमन निकै असहज हुने गरेको छ।