खसीबोकामा आत्मनिर्भरता कहिले सम्ममा?

  • 28 सेप्टेम्बर 2017
च्याँग्रा

कृषिप्रधान देश भएपनि कृषि र पशुपालनमै आधारित वस्तुमा समेत नेपाल परनिर्भर छ।

दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउने वर्षौं पुरानो सरकारी योजना कागजमै सीमित बनेको अधिकारीहरुले बताएका छन्।

परम्परादेखि माछामासु खाने चाडका रुपमा चिनिने दशैंका लागि यस वर्ष पनि करोडौं मूल्यका खसी बोका, राँगा र च्याङ्ग्राको छिमेकी मुलुकबाट आयात गरिंदैछ।

निजी तथा साना किसानलाई विशेष सहुलियत, उन्नत जातका खसीबोका उत्पादन र छरिएको बजारलाई व्यवस्थित गर्नसके विद्यमान परनिर्भरता घट्दै जाने विज्ञहरुको सुझाव छ।

बजारको माग अनुसार दशैंतिहारका लागि ४५ हजार देखि ५० हजार खसी बोका र च्याङ्ग्रा काठमाण्डू उपत्यकामा मात्रै भित्र्याइन्छन्।

चुनौती

एकैचोटि ठूलो परिमाणमा मासुको खपत हुने भएकाले भारतीय बजारबाट आयात गर्नुको विकल्प नभएको व्यवसायीहरु बताउँछन्।

हाल मुलुकभर करिब १ करोड १० खसीबोका र च्याँग्राको संख्या रहेको भएपनि बर्सेनि भारतबाट मात्र पाँच लाखको हाराहारीमा आयात भइरहेको पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

त्यसका अतिरिक्त राँगा, कुखुरा र हाँसको आयातमा पनि उल्लेख्य वृद्धि भएको अधिकारीले जनाएका छन्।

मासुमा आत्मनिर्भर बन्नका लागि पर्याप्त संभावना रहेको भएपनि त्यसो हुन नसक्नुमा प्रशस्त चुनौती रहेको पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले बताएका छन्।

उनले भने, ''किसानहरुलाई व्यवसायिकतामा लैजान, यान्त्रिकीकरण र विविधिकरण गर्न स्रोत साधनको अभाव भयो। अहिले कूल अर्थतन्त्रमा १२ देखि १३ प्रतिशत योगदान पशुपंक्षी विकास मन्त्रालयबाट हुन्छ तर २८ अर्ब कृषि मन्त्रालयमा हुँदा पशुपंक्षी मन्त्रालय ९ अर्बमा खुम्चेको अवस्था छ।''

दशैंका बेला अन्य समयमा भन्दा बढी विक्री हुने हुनाले उपत्यका लगायतका मुख्य शहरहरुमा खसीबोका विक्री केन्द्र नै स्थापना गरिएका छन्।

बाध्यता

मुलुकको कुल गार्हस्थ उत्पादनको एक तिहाइ कृषिमा आधारित भएपनि खसी बोका राँगा जस्ता मासुजन्य कृषि उत्पादनहरुको ठूलो परिमाण आयात गरिनुपर्ने बाध्यतालाई विरोधाभासपूर्ण र अचम्म लाग्दो अवस्था मान्छन् एकजना अर्थविद् केशव आचार्य।

खसीबोकामा आत्मनिर्भरताका लागि उपायहरु सुझाउँदै उनले भने, ''अहिलेको जस्तो एउटा घरमा एउटा बाख्रा पालेर हैन कि अलि ठूलै स्तरमा सरकार र निजी क्षेत्रको सहकार्यमा काम गरेर सकारात्मक नतिजा देखाउन सक्यौं भने र पशु बिमा दिने कार्यक्रमलाई सक्रिय बनाउने लगायतका काम गरेमा प्रगति अवश्य हासिल हुनेछ।''

बजारको मागलाई आन्तरिक उत्पादनले एकैचोटि सम्बोधन गर्न नसकिएपनि आगामी केही वर्षमा नेपाल खसीबोका लगायतमा पूर्ण रुपमा आत्मनिर्भर बन्ने सरकारी अधिकारीहरुको विश्वास छ।

त्यसकालागि सरकारका कार्यक्रमबारेमा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता श्याम प्रसाद पौडेलले भने, ''मासुमा आत्मनिर्भरताका लागि खासगरी स्रोत केन्द्रको विस्तार कार्यक्रम, रोग नियन्त्रण र उन्नत जातको सुधार गर्ने कार्यहरु सञ्चालन गरेका छौं।''

खसीबोका लगायतका मासुजन्य उत्पादनमा आत्मनिर्भर हुनसके बर्षेनी करिब १२ देखि १५ अर्ब रुपैयाँ बाहिरिनबाट जोगिन्छ र कैयनलाई रोजगारी पनि प्रदान गर्न सकिन्छ।