डुंगा डुब्दा १४ जना रोहिंज्याको 'मृत्यु'

  • 29 सेप्टेम्बर 2017
मृत्यु तस्वीर कपीराइट AFP/GETTY IMAGES

बांग्लादेशको कक्सेस बजार तट नजिकै समुद्रमा एउटा डुंगा डुब्दा त्यसमा सवार कम्तीमा १४ जना रोहिंज्या शरणार्थीको ज्यान गएको बताइएको छ।

बांग्लादेशी प्रहरीका अनुसार मृत्यु हुनेमध्ये ९ जना बालबालिका र बाँकी महिला थिए।

म्यानमारको रखाइन राज्यमा जारी हिंसाका कारण पछिल्लो ४८ घण्टामा करिब २ हजार रोहिंज्याहरु दक्षिणी बांग्लादेश पुगेको विवरण आएका छन्।

प्रत्यक्षदर्शीहरुका अनुसार तटभन्दा केही पर उक्त डुंगा समुद्रमा डुबेको थियो।

रोहिंज्या संकटः राष्ट्रसंघमाथि प्रश्न

आग्रह

एकजना स्थानीय पसल सञ्चालक मोहम्मद सोहेलले आफूले डुंगा डुब्दै गरेको देखेको र त्यसको केही समयपछि छालले शवहरु तटमा ल्याइदिएको समाचार संस्था एएफपीलाई बताए।

यसैबीच म्यानमार सरकारले संयुक्त राष्ट्रसंघका अधिकारीहरुलाई रखाइन राज्यको भ्रमण गराउने योजना पर सारिदिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन्।

तस्वीर कपीराइट Getty Images

खराब मौसमका कारण निर्धारित भ्रमण योजना पर सारिएको म्यानमारका अधिकारीहरुले जनाएका छन्।

छुट्टै प्रसंगमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले जवाफदेहिताका लागि कदम नचालेसम्म म्यानमार सरकारलाई हतियार उपलब्ध गराइरहेका देशहरुलाई त्यो बन्द गर्न आग्रह गरेकी छन्।

'जातीय सफाया'

सुरक्षा परिषद्‍मा बोल्दै उनले रोहिंज्या मुस्लिमविरुद्धको हिंसालाई 'जातीय सफाया'को संज्ञा दिइन् र म्यानमारमा प्रजातन्त्रका लागि लडाइँ गरेकाहरुका निम्ति त्यो लज्जाको विषय भएको बताइन्।

उनले दमनमा संलग्नहरुलाई कानूनी दायरामा ल्याइनुपर्नेमा जोड दिइन्।

म्यानमारको सेनाले गरेको कारबाहीका कारण पाँच लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरु भागेका छन्।

उनीहरुमध्ये अधिकांशले अहिले बांग्लादेशमा शरण लिइरहेका छन्।