नयाँ रेडारले उडान 'थप सुरक्षित बनाउने'

  • 29 सेप्टेम्बर 2017
रेडार तस्वीर कपीराइट CAAN

देशको सबैभन्दा व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउ-जाउ गर्ने विमानहरुको अवस्थिति थाहा पाउन सहज तुल्याउन नयाँ रेडार उपकरणको जडान कार्य सकिएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।

हाल रेडार मार्फत उडानको अनुगमन सीमित भएकोले पूरै नेपाली आकाशमा उडिरहेका विमानहरुको अवस्थिति थाहा पाउन कठिन हुने गरेको छ।

अब ललितपुरको भट्टेडाँडामा नयाँ रेडार जडान भएपछि उडानहरु थप सुरक्षित हुने अधिकारीहरु बताउँछन्।

सो रेडार आउने डिसेम्बरबाट औपचारिक रुपमा सञ्चालनमा आउने बताइएको छ।

पुरानो

'रेडियो डिटेक्सन् एण्ड रेन्जिङ'लाई छोटकरीमा रेडार भनिन्छ जसले रेडियो तरंगमार्फत विमान को अवस्थिति, उचाइ, गति जस्ता जानकारी थाहा पाउन मद्दत गर्दछ।

सन् १९९२ को जुलाई र सेप्टेम्बरमा दुई महिनाको अवधिमा त्रिभुवन विमानस्थलतर्फ आइरहेका दुईवटा अन्तराष्ट्रिय विमान दुर्घटना भएपछि विमानको अनुगमन गरी प्राविधिकरुपले सही दिशानिर्देश गर्न त्रिभुवन विमानस्थलमा रेडार राख्ने पहल गरियो।

फलस्वरुप पाँच वर्षपछि सन् १९९७ मा पहिलो पटक रेडार जडान गरियो।

जापान सरकारको सहयोगमा जडित त्यो रेडार २० वर्ष पुरानो भइसकेको छ।

सुरक्षित

त्यो बिग्रने अवस्थामा पुगिसकेकोले नेपाली आकाशका विमानको अनुगमन अझै प्रभावकारी बनाउन जापानी अनुदान सहयोगमै ललितपुरको भट्टेडाँडामा करिब २४ सय मिटरको उचाइमा अर्को नयाँ रेडार जडान गरिसकिएको छ।

अहिले परीक्षणको क्रममा रहेको त्यो रेडारको अमेरिकाको नागरिक उड्यन निकाय 'एफएए'का प्राविधिकहरुले आउने नोभेम्बरमा विशेष विमान उडाएर निरीक्षण गर्ने कार्यक्रम छ।

भट्टेडाँडामा जडित 'मोनोपल्स सेकण्डरी सर्भिलियन्स् रेडार'ले उडानलाई थप सुरक्षित बनाउन मद्दत गर्ने प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले बताए।

"नयाँ रेडारले करिब ३५० किलोमिटर परसम्मका विमानको अवस्थिति थाहा पाउन सहयोग गर्छ, जसले गर्दा उडान थप सुरक्षित बनाउन सकिने अवस्था सृजना हुन्छ।"

आशा

करिब १ अर्ब रुपैयाँको लागतमा जापानी प्राविधिकहरुले जडान गरेको भट्टेडाँडाको रेडारमार्फत २५० नटिकल माइल टाढासम्मको विमानको अवस्था थाहा पाउन सकिने बताइएको छ।

त्रिभुवन विमानस्थलको पुरानो रेडारमार्फत चाहिँ करिब ६० नटिकल माइल परको जहाजको अवस्थिति थाहा पाउन सकिन्छ।

अग्लो पहाडमा जडान गरिएको नयाँ रेडारले पश्चिममा दाङ र दक्षिण र पूर्वमा पूरै नेपाली आकाशमा रहेका विमानहरुको अवस्थिति अनुगमन गर्न सकिने बताइएको छ।

नेपाल एअरलाइन्समा ३० वर्ष काम गरेका अनुभवी विमानचालक विजय लामाले नयाँ रेडारले विमान चालकहरुलाई नेपालभित्र उडान गर्न सहज हुने आशा व्यक्त गरे।

सहज

"एअर ट्राफिक नियन्त्रकहरु जति सक्षम भयो त्यति नै राम्रो। राम्रो राम्रो उपकरण भयो भने हामीलाई आकाशमा धेरै चिन्ता हुँदैन। नेपालमा यस्तो नयाँ रेडार हुनु खुशीको कुरा हो।"

भट्टेडाँडा त्रिभुवन विमानस्थलमा अवतरणका लागि आउने अन्तर्राष्ट्रिय उडानको अवतरण गर्ने बाटोमा पर्दछ।

त्यहाँ नयाँ रेडार जडान भएपछि काठमाण्डू विमानस्थल आउ-जाउ गर्ने ठूला तथा साना विमानबारे उडान नियन्त्रण कक्षमा रहेका प्राविधिकलाई काम गर्न निकै सहज हुने अपेक्षा अधिकारीहरुको छ।

तर जानकारहरु भन्छन् नयाँ रेडारका अतिरिक्त विमानस्थलको चुस्त व्यवस्थापन, अनि विमान र चालकको अवस्था पनि सुरक्षाको लागि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन्।