अक्सफर्डबाट हटाइयो नेतृ सू चीको तस्वीर

  • 30 सेप्टेम्बर 2017
सू ची तस्वीर कपीराइट EPA

प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयले म्यानमारकी नेतृ आङ सान सू चीले मानार्थ 'डिग्री' पाएको कलेजबाट उनको तस्वीर हटाइदिएको छ।

रोहिंज्या संकटलाई लिएर सू चीको व्यापक आलोचना भइरहेका बेला उनको तस्वीर हटाइएको खबर बाहिर आएको हो।

म्यानमारमा जारी हिंसाका कारण चार लाखभन्दा बढी अल्पसंख्यक रोहिंज्या मुस्लिमहरु भागेर छिमेकी मुलुक बांग्लादेश पुगेका छन्।

सेन्ट ह्युज कलेजले नेतृ सू चीको तस्वीर हटाएर उक्त स्थानमा एउटा जापानी 'पेन्टिङ' राखिएको जनाएको छ।

कारण

सू चीको तस्वीर हटाइएको स्थानमा राखिएको 'पेन्टिङ' जापानी कलाकार योशिहिरो ताकादाले बनाएका हुन्।

कलेजबाट सू चीको तस्वीर हटाउनुको कारणबारे केही खुलाइएको छैन।

सो कलेजका सञ्चार प्रबन्धक बेन्जामिन जोन्सले सू चीको तस्वीर हटाएर 'सुरक्षित स्थान'मा राखिएको र 'केही समयावधिका लागि' उक्त स्थानमा योशिहिरोको 'पेन्टिङ' रहने बताए।

तस्वीर कपीराइट Reuters

यसै महिनाको शुरुतिर सेन्ट ह्युज कलेजले उपहारस्वरुप उक्त 'पेन्टिङ' पाएको थियो र कलेजको मुख्य भवनमा त्यसलाई राखिएको छ।

सन् २०१५ को आमनिर्वाचनमा बहुमत ल्याएर सरकार गठन गरेकी नेतृ सू चीले रोहिंज्या संकट समाधानका लागि केही नगरेको भन्दै अन्तर्राष्ट्रियस्तरमा दबाब झेलिरहेकी छन्।

आरोप

कतिपयले उनलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन्।

गत हप्ता एउटा सम्बोधनका क्रममा उनले मानवअधिकार उल्लंघनको निन्दा गरे पनि देशको सेनामाथि उनले कुनै आरोप लगाइनन् र 'जातीय सफाया' भइरहेको आरोपबारे पनि केही बोलिनन्।

सन् २०१२ को जुन महिनामा सेन्ट ह्युज कलेजले उनलाई मानार्थ 'डिग्री' प्रदान गरेको थियो।

यद्यपि सू चीलाई दिइएको मानार्थ 'डिग्री' फिर्ता लिने सोच नबनाएको उक्त कलेजले जनाएको छ।

सन् १८८६ मा स्थापित सेन्ट ह्युज कलेज अक्सफर्ड विश्वविद्यालयका ठूलामध्येको एक हो।