पोर्टो रिको टापुको अवस्था अझै ‘दयनीय’

  • 1 अक्टोबर 2017
पोर्टो रिको तस्वीर कपीराइट AFP

राहतबारे अमेरिकी प्रयासलाई लिएर राजनीतिक विवाद गहिरिंदै गर्दा दुईवटा शक्तिशाली आँधीले विनाश निम्त्याएको पोर्टो रिको टापुको अवस्था अझै दयनीय छ।

शक्तिशाली आँधी आएको १० दिन बितिसक्दा पनि क्यारिबियन क्षेत्रको उक्त अमेरिकी टापुमा बिजुली आपूर्ति शुरु भएको छैन भने खासगरी राजधानी बाहिरका क्षेत्रमा पिउने पानी, खाद्यान्न र इन्धनको अभाव छ।

कैयौँ ट्वीटमार्फत सहायतका लागि प्रतिबद्धता जनाएका राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँको अवस्थाका लागि स्थानीय अधिकारी, डेमोक्रेट्स र सञ्चारमाध्यम जिम्मेवार रहेको आरोप लगाएका छन्।

संवाददाताहरु भन्छन्, मानवीय विपद्लाई ट्रम्पले राजनीतिकरण गर्ने जोखिम मोलिरहेका छन् र पोर्टो रिकोका कतिपय बासिन्दा आफूलाई दोस्रो दर्जाको नागरिक ठानिरहेका छन्।

सहायता

पोर्टो रिकोमा एक हप्ताअघि मरिया आँधी आउँदा कम्तीमा १६ जनाको ज्यान गएको थियो।

आँधीले निम्त्याएको विध्वंसपछि सो टापुलाई लाखौं डलर बराबरको सहायता चाहिएको छ।

तर राष्ट्रपति ट्रम्पले पोर्टो रिकको नेतृत्व कमजोर रहेको भन्दै 'सबैथोक अरु गरिदिनुपर्ने चाहना राख्ने' मान्छे भएको आरोप लगाएका छन्।

तस्वीर कपीराइट EPA

स्यान हुआन नगरकी प्रमुखले संघीय सरकारलाई सहायताका निम्ति व्यग्र आग्रह गरेपछि ट्रम्पको त्यस्तो भनाई आएको हो।

सुनिश्चित

एउटा पत्रकार सम्मेलनमा नगर प्रमुख कारमेन युलिन क्रुजले भनिन्, "हामीसँग अब धैर्य गर्ने समय छैन। म संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई आग्रह गर्न चाहन्छु उनले यो कुरा सुनिश्चित गरुन् कि जनताको ज्यान जोगाउने काममा मान्छे खटिएका छन्।"

त्यसपछि सीएनएनसँगको एउटा अन्तर्वार्तामा उनी देखिएकी थिइन् र उनले लगाएको टी-शर्टमा 'हामीलाई सहयोग गर्नुस्, हामी मरिरहेका छौँ' लेखिएको थियो।

शक्तिशाली आँधीले घर ध्वस्त बनाएपछि मेयर क्रुज आफैं पनि अस्थायी टहरामा बसिरहेकी छन्।

आँधीले सो टापुका ९० प्रतिशत घर ध्वस्त बनाएको र ६ देखि आठ महिना जति बिजुली नहुने निश्चित देखिएको मेयर क्रुजले बताइन्।