सहुलियत ब्याजदरको ऋण दिन माग

  • 1 अक्टोबर 2017
चिया

अरु बालीका लागि सहुलियत ब्याजदरको ऋण उपलब्ध भएपनि चिया बालीको हकमा उक्त सुविधा नदिएर सरकारले विभेद गरेको चिया किसान तथा उद्योगीले बताएका छन्।

धान, गहुँ लगायतका बालीमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने गरेको छ।

हजारौं किसान आबद्ध चिया बालीलाई सहुलियत ब्याजदरको उक्त ऋण उपलब्ध गराइनुपर्ने किसानहरुको माग छ।

झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायत चिया उत्पादन हुने जिल्लामा १५ हजारभन्दा बढी चिया किसान छन्।

प्रोत्साहन

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा १४ हजार ७ सय ३२ चिया बगान छन्।

तर न त चिया बगानले न चिया किसानलेसरकारको कृषि सहुलियत दरको ऋण पाएका छन्।

झापाका एकजना साना चिया किसान कृष्ण पोखरेलले भने, "चिया निर्यातजन्य कृषि उपज भएकाले किसान उत्पादनमा प्रोत्साहन गर्न पनि सहुलियत ब्याजदरको कृषि उपलब्ध गराइनुपर्छ। यसले किसान, उद्योगी तथा राष्ट्रलाई नै फाइदा गर्छ।"

कृषिजन्य वस्तु उत्पादनका लागि ब्यांकहरुबाट सहुलियत दरको ऋण अन्य कृषि बालीलाई दिइने गरिएको छ।

१० प्रतिशत ब्याजदरमा ऋण लिइएको छ भने उक्त ब्याजदरमा सरकारले ५० प्रतिशत अनुदान दिन्छ।

भेदभाव

तर सरकारले चिया क्षेत्रलाई उक्त अनुदान उपलब्ध नगराएकाले आफूहरु भेदभावको शिकार भएको एकजना चिया उद्योगी चण्डी पराजुलीको गुनासो छ।

उनले भने, "धान, गहुँ, उखु, माछालाई दिने चियालाई किन नदिने? कि सरकारले कृषि बाली होइन चिया भन्नुपर्‍यो।"

कृषि अनुदानको ऋण पाउनका लागि कृषि बालीहरु कार्यविधिमा सूचीकृत गर्नुपर्ने हुन्छ।

तर अहिलेसम्म चिया बाली उक्त कार्यविधिमा सूचीकृत नभएको कृषि विकास मन्त्रालयले बताएको छ।

तर चिया बालीलाई सूचीकृत गराउनका लागि सबै निकायहरु सम्मिलित बैठकमा आफ्नो प्रयास रहने कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए।

निर्यात

कार्कीले भने, "चिया बालीलाई कार्यविधिमा समावेश गर्नका लागि राष्ट्र ब्यांक, अर्थ मन्त्रालय, कृषि विकास मन्त्रालय तथा ब्यांकर असोसिएसन सम्मिलित बैठकमा कृषि विकास मन्त्रालयको तर्फबाट प्रयास रहनेछ। समावेश नहुनुको कुनै अरु कारण छैन।"

नेपालमा वार्षिक करबब २ करोड ५० लाख किलो तयारी चिया उत्पादन हुने गरेको छ।

त्यसमध्ये अधिकांश मात्रा भारत तथा अर्थोडक्स चियाको केही मात्रा अन्य मुलुक निर्यात हुने गरेको छ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा २७ हजार ६ सय ८८ हेक्टर जमिनमा चिया खेती हुने गरेको छ।