अमेरिकाःबन्दुक र अपराधबीचको सम्बन्ध

  • 3 अक्टोबर 2017
बन्दुक

लास भेगसमा भएको गोलीकाण्डपछि अमेरिकामा बन्दुक नियन्त्रण गर्ने कडा कानूनको आवश्यकताबारे फेरि बहस शुरु भएको छ।

कनेटिकटका डेमोक्रेटिक सिनेटर क्रिस्टोफर मर्फीले चुप लागेर बस्नु विकल्प नभएको बताएका छन्।

इलिनोएबाट प्रतिनिधित्व गर्ने सिनेटर डिक डर्बिनले हरेक वर्ष बन्दुकसम्बन्धी घटनामा ३० हजार मानिसले ज्यान गुमाइरहँदा आँखा चिम्लिन नमिल्ने बताए।

६ वर्षअघि एउटा गोलीकाण्डमा बाँच्न सफल अमेरिकी कंग्रेसकी सदस्य ग्याब्रिएल गिफर्ड्जले बन्दुक राख्न पाउनेसम्बन्धी कडा कानून ल्याउनुपर्नेमा जोड दिइन्।

लास भेगसः आक्रमणको उद्देश्य के होला?

लास भेगस गोलीकाण्डःको थिए आक्रमणकारी?

तस्वीरमा लास भेगस गोलीकाण्ड

उनका श्रीमान् मार्क केलीले पढेर सुनाएको एउटा संयुक्त वक्तव्यमा आगामी दिनमा हुनसक्ने गोलीकाण्ड रोक्नका लागि ह्वाइट हाउसको समवेदना पर्याप्त नहुने उल्लेख छ।

तस्वीर कपीराइट Getty Images

तर सञ्चार मामिला हेर्ने ह्वाइट हाउसकी एक अधिकारीले बन्दुकमाथि नियन्त्रण गर्ने विषयमा बहस गर्न हतार गर्न नहुने बताएकी छन्।

थाहा पाउनुपर्ने १० कुरा

  • सन् २०१४ मा अमेरिकाको जनसंख्या करिब ३२ करोड रहेका बेला प्रहरी र सर्वसाधारणसँग गरी ३७ करोड बन्दुक थिए।
  • सोही वर्ष दर्ता गराइएका हत्यासम्बन्धी १४, २४९ घटनामध्ये ६८ प्रतिशत अर्थात् ९,६७५ घटनामा बन्दुकको प्रयोग भएको थियो।
  • सन् २०१४ मै अमेरिकामा ५९ लाख अपराध भएका थिए जसमध्ये करिब ६ लाखमा बन्दुकको प्रयोग गरिएको थियो।
  • सन् २०१४ मा ५६ प्रतिशत हमला, ३० प्रतिशत चोरी, ३९ प्रतिशत बलात्कार र ६५ प्रतिशत हत्याका घटना दर्ता भएका थिए।
  • सन् २०१४ मा ३१ प्रतिशत अमेरिकी घरधुरीसँग बन्दुक रहेको पाइएको थियो जुन संख्या ४० वर्षयताकै सबैभन्दा कम थियो।
  • सरकारी तथ्याङ्क अनुसार अमेरिकामा हरेक १७ वर्षभन्दा कम उमेरका १,३०० बालबालिका गोली लागेर घाइते हुने गर्छन्।
  • प्रत्येक वर्ष गोली लागेर ज्यान गुमाउने अमेरिकीहरु प्रति एक लाखमा औसत १० जना हुन्छन्।
  • अमेरिकामा हरेक वर्ष करिब ५५ लाख निजी हतियार बनाइन्छ जसमध्ये ९५ प्रतिशत देशभित्रै खपत हुन्छ।
  • अमेरिकामा २० प्रतिशत बन्दुक मालिकहरुसँग नै ६५ प्रतिशत निजी हतियार रहेको बताइन्छ।
  • हतियार खरिद गर्ने मानिसहरुको न्यायिक 'रेकर्ड' उपलब्ध हुँदैन।