क्याटलोनियामा दशौं हजारको जुलुस

  • 3 अक्टोबर 2017
बार्सिलोना तस्वीर कपीराइट AFP

क्याटलोनिया क्षेत्रका सडकहरुमा स्वतन्त्रताको माग गर्दै दशौं हजार पृथकतावादीहरुले प्रदर्शन गरेका छन्।

आइतबारको विवादास्पद जनमत संग्रहका बेला प्रहरीले मतदाताहरु विरुद्ध दुर्व्यवहार गरेको भन्दै त्यसका विरुद्ध पनि विरोध प्रदर्शन भएको छ।

केही युनियनहरुले आम हडताल आह्वान गरेका कारण विद्यालय, क्लिनिक र पसलहरु बन्द छन्।

बार्सिलोना, टारागोना र जिरोना शहरहरुमा सार्वजनिक यातायात प्रभावित भएको छ।

विरोध

बार्सिलोना शहरको मध्य भागमा हजारौं मानिसहरुको भिड लागेको छ भने क्याटलोनिया क्षेत्रभरका सडकहरुमा विरोध प्रदर्शनहरु भएका छन्।

आइतबार भएको स्वतन्त्रता सम्बन्धी विवादास्पद जनमत संग्रहका बेला भएको हिंसात्मक प्रहरी हस्तक्षेपको प्रदर्शनकारीहरुले विरोध गरेका छन्।

सार्वजनिक यातायात ठप्प छ भने क्याटलान ट्रेड युनियनहरुले जनमत संग्रहका बेला स्पेनको राष्ट्रिय प्रहरीले देखाएको व्यवहारका विरुद्ध आक्रोश व्यक्त गर्न हडतालको आह्वान गरेका हुन्।

क्याटलोनिया क्षेत्रभर थुप्रै साना व्यवसायहरु बन्द छन्।

तस्वीर कपीराइट EPA

स्कूल, विश्वविद्यालय र चिकित्सा सेवाहरु कि त बन्द छन् कि न्यून स्तरमा संचालित छन्।

बन्द

साग्राडा फामिलीया गिर्जाघर लगायत बार्सिलोनाको प्रमुख पर्यटकीय आकर्षणहरु पनि बन्द छन्।

स्पेनी सरकारले गैरकानुनी भनेको आइतबार आयोजित जनमत संग्रह रोक्न प्रहरीले हस्तक्षेप गर्दा झण्डै नौसय जना घाइते भएका थिए।

स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले उक्त मतदानलाई "प्रजातन्त्रको उपहास" भनेका थिए।

प्रहरी हस्पक्षेपका माझ झण्डै २२ लाख मानिसहरुले स्वतन्त्रता सम्बन्धी जनमत संग्रहमा भाग लिएका दावी गरिएको छ।

क्याटलान सरकारले स्वतन्त्रताको पक्षमा ९० प्रतिशत मत खसेको बताएको छ तर मत परिणामको औपचारिक घोषणा भने गरिएको छैन।

यसैबीच राजनीतिक नेताहरु वर्तमान अवस्थाभन्दा अघि बढ्ने उपाय फेला पार्न प्रयासरत रहेका छन्।