हैजाः२०३० सम्म ९० प्रतिशत कम गर्ने लक्ष्य

  • 4 अक्टोबर 2017
हैजा तस्वीर कपीराइट EPA

सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशत कम गर्ने प्रतिबद्धता जनाउन विश्वभरका स्वास्थ्य नेताहरुको बैठक फ्रान्समा बसिरहेको छ।

सरकारहरु, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तर्राष्ट्रिय सहायता संस्थाहरुबाट यस्तो खालको प्रतिबद्धता सार्वजनिक हुन लागेको यो पहिलो पटक हो।

पछिल्लो समय हैजाको निकै डरलाग्दो महामारीको शिकार यमन भएको छ।

युद्धका कारण सरसफाईको अवस्था बिग्रिंदा र खानेपानी वितरण प्रणाली अवरुद्ध हुँदा त्यहाँ हैजाको महामारी फैलिरहेको छ।

भयावह

यमनमा ७ लाख ७० हजारभन्दा बढी मानिस हैजाबाट संक्रमित भएका छन् भने २ हजार जनाको मृत्यु भइसकेको छ।

फोहोर पानीबाट फैलिने हैजा रोगबाट विश्वभर बर्सेनि करिब एक लाख मानिसले ज्यान गुमाउने गरेका छन्।

तस्वीर कपीराइट Getty Images

तीमध्ये अधिकांश अफ्रिका र एसिया महादेशका हुन्छन्।

'भाब्रिओ कोलरा' नामक जीवाणु मिसिएको खाना वा पानीबाट हैजा हुने गर्छ र धेरै भीडभाड तथा फोहोर भएको स्थानमा यो छिटै फैलिन्छ।

सामना

पुनर्जलीय झोल दिएर हैजा लागेको बिरामीको उपचार गर्न सकिन्छ र स्वच्छ पानी एवं सफा शौचालयको प्रयोगले हैजा लाग्नबाट जोगिन सकिने विज्ञहरु बताउँछन्।

उनीहरु भन्छन्, खासगरी द्वन्द्व र प्राकृतिक विपद्का बेला हैजाको सामना गर्न त्यसको औषधि यथाशीघ्र उपलब्ध गराउनुपर्छ।

डब्ल्यूएचओका अनुसार विश्वभर २ अर्ब मानिसको स्वच्छ पानीमा पहुँच छैन र उनीहरु सम्भवतः हैजाबाट संक्रमित हुने जोखिममा छन्।

हैजासम्बन्धी डब्ल्यूएचओको कार्यक्रमका प्रमुख डोमिनिक लेग्रोले भने, "हामीले हरेक वर्ष व्यापक रुपमा हैजा फैलिएको हेरेर बस्न सक्दैनौँ। हामीसँग त्यसलाई रोक्ने उपाय छ र त्यसको प्रयोग गर्नुपर्छ।"